काठमाडौँ, २० माघ । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६१ पुगेको छ । कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १७ हजार नाघिसकेको छ ।
हिजो (आइतबार) कोरोना भाइरसबाट चीनमा एकै दिन ७५ जनाको ज्यान गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीले जनाएको छ । चीन बाहिर आइतबार फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ ।
यस्तै थप तीन हजारमा कोरोना सङ्क्रमण भएको पनि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । चीन भन्दा बाहिर २४ देशमा गरी १५० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।
यातायात ठप्प, बजार सुनसान
कोरोना भाइरसका कारण चीनको वुहान सहरमा यातायात तथा बजार सबै बन्द छन् । वुहानभन्दा बाहिरका सहरहरूमा पनि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएका छन् । ६० लाख जनसङ्ख्या रहेको वुहानको पूर्वी सहरमा कोरोनाको प्रकोप अझै बढ्न सक्ने भन्दै स्थानीय सरकारले चेतावनी दिएको छ ।
चिनिया सरकारी सञ्चारमाध्यमले वुहान शहरबाट सात लाखभन्दा धेरै मानिस वुहानमा नाकाबन्दी गर्नुअघि नै सहर छाडेर बाहिर गइसकेका बताएका बीबीसीले जनाएको छ ।
वुहानको पूर्वी सहर वेन्जुउमा बसोबास गर्नेहरूलाई खाना र अन्य अत्यावश्यक सामान किन्नका लागि एउटा परिवारको एक जनालाई दिनमा दुई पटक घरबाट बाहिर निस्कन अनुमति दिएको छ । बाँकी समय कोही पनि घर बाहिर निस्कन पाउँदैनन् ।
१० दिनमै हजार शैंयाको अस्पताल
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चीनले १० दिनमा एक हजार शैयाको अस्पताल निर्माण गरेको छ । सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएपछि चीनले त्यसको उपचारका लागि नयाँ अस्पताल सञ्चालन गरेको छ ।
नयाँ अस्पतालमा विशेषज्ञ, चिकित्सक र स्वास्थ्य कर्मीसहित एक हजार भन्दा बढी संलग्न हुने जनाइएको छ । यस्तै अन्य सहरहरूमा पनि नयाँ अस्पताल निर्माण हुने क्रममा रहेको र एक साताभित्रै सञ्चालनमा आउने चिनियाँ अधिकारीहरूलाई उध्रृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनको वुहान शहरबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका कारण चीनमा मात्र मर्नेहरूको उच्च बन्दै गएको छ । अन्य देशमा पनि उक्त भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।
अधिकांश देशहरूले चीन भ्रमण गरेका नागरिकलाई आफ्नो देशमा प्रवेशमा रोक लगाएका छन् ।
यसैबिच हङकङका स्वास्थ्यकर्मीहरुले चीनसँगको सीमा नाका बन्द गर्न माग गरेका छन् । उनीहरूले बढ्दो सङ्क्रमण फैलन नदिन सीमा नाका बन्द नगरिए हडतालमा उत्रने चेतावनी समेत दिएका छन् ।
तर विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका अधिकारीहरूले सीमा नाकामा चेक जाँचमा कडाइ गरेर आवागमनलाई सहज बनाउनुपर्ने बताएका छन् । उनीहरूले आवतजावत बन्द गरे सूचना आदानप्रदानमा समेत अफ्ठेरो हुने भन्दै आपत्कालीन अवस्थामा सूचना आदानप्रदान सहज गराउन माग गरेका छन् ।
चीन सरकारले भाइरसबाट प्रभावितको सङ्ख्या १७ हजार रहेको बताए पनि हङकङले उक्त तथ्याङ्कमा आशंका व्यक्त गरेको छ । हङकङ विश्वविद्यालयका अधिकारीहरूले चीनमा ७५ हजारभन्दा बढी प्रभावित भए पनि सूचना लुकाइएको दाबी गरेका छन् ।