काठमाडौँ, १९ माघ । चीनको हुबेई प्रान्तको वुहानबाट स्वदेश फर्कन १७० जनाले बेइजिङस्थित नेपाली दूतावासलाई निवेदन दिएका छन् ।
कोरोना भाइरसका कारण वुहानमा भयावह स्थिति सिर्जना भएपछि दूतावासले शनिवार सूचना जारी गर्दै नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन अनुरोध गरेको थियो हालसम्म १७० जनाले नेपाल फर्कनको लागि आवेदन दिइसकेको बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशील कुमार लम्साल जानकारी दिएका छन् । उनले परेका आवेदनको छिटो पुनः प्रमाणीकरण गरेर उनीहरूलाई छिट्टै नेपाल फर्काउने प्रयास भइरहेको समेत जानकारी दिएका छन् ।
वुहानमा कोरोना भाइरस बिरामी र मृत्यु हुनेको सङ्ख्या बढेपछि विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । आज कारोना भाइरसका कारण फिलिपिन्समा एक जनाको ज्यान गएको छ । यो भाइरसका कारण चीन बाहिर ज्यान गएको पहिलो हो । महामारीको रूप लिएको कोरोना भाइरसबाट आफ्ना नागरिक बचाउन विभिन्न देशले लहानबाट आफ्ना नागरिक उद्धार गरिरहेका छन् । यस क्रममा नेपालले पनि आफ्ना नागरिकको उद्धार कार्य प्रारम्भ गरेको हो ।