बेलवारी आइडल २ को छनौट चरण सम्पन्न : ६१ प्रतियोगी प्रिसेमिफाइनलमा प्रवेश


बेलवारी ,१८ माघ । सुर सप्तक बेलवारी आइडल २ को प्रतियोगिताबाट ६१ जना छनौट भएका छन् । गायन प्रतियोगिता सुर सप्तक बेलवारी आइडल २ को माघ १७ गते बाट सुरु भएको छनौट चरणबाट ६१ प्रतियोगी छनोट भएर प्रिसेमिफाइनलमा प्रवेश गरेका हुन ।

पहिलो दिनको छनोट चरण माघ १७ गते बेलवारी–७ स्थित प्रगति बोर्डिङ स्कुल र रणवीर बोर्डिङ स्कुलमा भएको थियो भने अन्तिम छनोट आज शनिवार बेलवारी–११ स्थित श्री लक्ष्मी मा.वि र बेलबारी ३ स्थित मदनमोहन सांस्कृतिक भवनमा सम्पन्न भएको छ । दुई दिन भएको छनोट चरणको निर्णायकहरूमा संगितकार भीम बस्नेत, शेखर थापा मगर, गोपाल श्रेष्ठ र टेकराज मगर रहेका थिए ।

दुई सय भन्दा बढी सहभागी प्रतियोगीबाट ६१ जना छनोट भएको स्रष्टा समाजका सचिव तथा कार्यक्रम संयोजक जे.वि थुलुङले जनाएका छन् । प्रिसेमिफाइनल माघ २५ गते आरोहण सङ्गीत विद्यालय बेलवारीमा हुने थुलुङले जनाएका छन् ।

शनिवार सम्पन्न प्रतियोगी छनोट कार्यक्रममा पहिलो बेलबारी आइडल विजेताको साथै टप टेन प्रतियोगीहरूको आवाजमा रहेको दुइटा गीत सार्वजनिक गरिएको छ ।बेलबारी वाड नं. १ का अध्यक्ष चक्र खुलालद्वारा ‘प्यारो छ बेलबारी नगर’ बोलको गीत र ‘तृष्णा त केवल बाँकी रहयो’ बोलको गीत उज्यालोप्रदेशका प्रधानसम्पादक भत्तशेर लिम्बु र बेतना राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक नरेन्द्र बस्नेतले मोबाइलबाट गीत बजाएर औपचारिक रूपमा सार्वजनिक गरेका थिए ।

पहिलो बेलबारी आइडल विजेता विवेश मोतेले विगतको अनुभव सुनाउँदै बेलवारी आइडल २ मा सहभागी प्रतियोगी हरूलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्