काठमाडौँ, १७ माघ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई यौन दुर्व्यवहारको आरोपमा गृह मन्त्रालयले निलम्बन गरेको छ ।
सङ्घीय प्रहरी इकाई धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो । राणालाई बिहीबार निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले बताएका छन् ।
गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ । यसअघि कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेकी थिइन् ।
उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् । राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् ।