काठमाडौँ ,१२ माघ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा थप दुई जना नेपालीमा टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।
कोरोनाको आशङ्का गरिएका पुरुष २८ वर्ष र महिला ४८ वर्षका दुवै जनालाई टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार गरिरहेका उनीहरू चीनबाट फर्किएका थिए।
कोरोनाको शङ्का लागेर अस्पताल पुगेकी महिला शनिवार माघ ११ गते टेकु अस्पताल पुगेकी थिइन् भने अर्का पुरुष माघ १० गते अस्पताल पुगेका थिए। अस्पताल स्रोतले भन्यो, ‘चीनबाट फर्किनेहरू परामर्शका लागि अस्पताल आइरहेका छन् । तीमध्ये २ जनालाई आशङ्का गरेर उपचार थालिएको हो ।’
उनीहरूको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि मात्र पूर्ण रूपमा कोरोना सङ्क्रमणबारे यकिन हुने स्रोतले बताएको छ ।
गत शुक्रवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शुक्रवार स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट हालै फर्केका एक नेपाली विद्यार्थीमा सङ्क्रमण देखिएको बताएको थियो। तर ती व्यक्ति हाल निको भएर घर फर्किसकेको बताइएको छ।
उनको परिचय खुलाइएको छैन। चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ५६ जनाको ज्यान गइसकेको छ ।