नोबेल अस्पतालमा ओपन हार्ट सर्जरी सेवा सुरु


विराटनगर, १० माघ ।  नोबेल शिक्षण अस्पतालले छाती चिरेर गरिने मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) सेवा सुरु गरेपछि पूर्वी नेपालका बिरामीहरूलाई सहज भएको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर मुटुको अप्रेसन थालिएपछि बिरामीहरूलाई सहज भएको हो ।

पूर्वी नेपालका विभिन्न जिल्लासहित भारतका बिरामीहरूले पनि नोबेलमा आएर ओपन हार्ट सर्जरी गराएका छन् । आफ्नै क्षेत्रमा स्तरीय सेवा पाउँदा धेरै सहज भएको भन्दै बिरामीहरूले खुसी व्यक्त गरेका छन् । नोबेलमा ओपन हार्ट सर्जरी गराएका मोरङको पथरीशनिश्चरेका सूर्यबहादुर राईले आफ्नै जिल्लामा मुटुको जटिल शल्यक्रिया गराउन पाउँदा धेरै सजिलो भएको प्रतिक्रिया दिए । ‘अन्त जानु परेको भए गाह्रो हुने थियो, चिने जानेकै आफ्नै ठाउँमा भएकाले धेरै सजिलो भयो ।’ उनले भने ।

अन्यत्र टाढा जाँदा धेरै झन्झट व्यहोर्नुपर्ने भए पनि आफ्नै ठाउँमा सहज रूपमा स्तरीय सेवा पाउँदा धेरै राहत महसुस भएको भन्दै झापाको भद्रपुरकी भीमादेवी खनाल र बिर्तामोडकी दिलमाया प्रसाईँले खुसी व्यक्त गरे । नोबेलमा राम्रो उपचार हुने सुनेर भारतको अररियाबाट आएर ओपन हार्ट सर्जरी गराएका सुरेश प्रसाद सिंहले सोचेको भन्दा राम्रो उपचार पाएको बताए ।

नोबेलले सेवा सुरु गरेपछि स्तरीय ओपन हार्ट सर्जरीका लागि काठमाण्डौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको नोबेल शिक्षण अस्पतालका निर्देशक एवं मुटु विभाग प्रमुख डा.राजेश नेपाल बताउँछन् । गत असार महिनाबाट नोबेलले ओपन हार्ट सर्जरी सेवा सुरु गरेको हो । त्यसयता २० जना बिरामीको छाती चिरेर मुटुको सफल शल्यक्रिया गरिएको छ । नोबेलले ओपन हार्ट सर्जरी थालेपछि पूर्वी नेपालका बिरामी बढी लाभान्वित भएका छन् ।

शरीरको महत्त्वपूर्ण अङ्ग भएकाले मुटुको अप्रेसनलाई जटिल मानिन्छ । मुटुमा सामान्य समस्या हुँदा अन्य विधिबाट उपचार गरिने भए पनि गंभिर समस्या भएकाहरूलाई ओपन हार्ट सर्जरी गर्नुपर्ने चिकित्सकहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्