काठमाडौँ, १० माघ । विदेशी र नेपाली पाइलटबिच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै नेपाल वायुसेवा निगमका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । ९० दिनको समयसीमा दिँदै उनीहरूले बिहीबार व्यवस्थापन समक्ष सामूहिक राजीनामा दिएको यो पहिलो घटना हो ।
व्यवस्थापनले नेपाली स्थायी कर्मचारीलाई काममा बढी लगाउने तर, विदेशीलाई कम काम लगाउने र सेवा सुविधा धेरै दिएको आरोप उनीहरूको गुनासो रहेको छ । ठुलो सङ्ख्यामा पाइलटहरूले सामूहिक राजीनामा दिएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ‘तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने कि, नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने,’ पाइलटहरूले राजीनामा पत्रमार्फत व्यवस्थापनलाई दुई विकल्प दिएका छन् ।
विदेशीले महिनामा ४६ घण्टा मात्र जहाज उडाउँछन् भने नेपालीले महिनामा ९५ घण्टा जहाज उडाउने पाइलटहरूले बताएका छन् । पाइलटहरूका अनुसार विदेशीले हप्तामा दुई दिन छुट्टी पाउँछन् भने नेपालीले हप्तामा एक दिन मात्र छुट्टी पाउँछन् । त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन् ।
विदेशीले महिनामा १५ लाख तलब पाउँछन् भने कर पनि व्यवस्थापनले तिरिदिएको छ । नेपालीले ५ लाख तलब मात्र पाउँछन् । एक सिनियर पाइलटका अनुसार ४० जनामध्ये २५ जनाले राजीनामा दिए पनि थप ८–१० जनाले केही दिनमै व्यवस्थापनलाई राजीनामा बुझाउने तयारी भइरहेको बताएका छन् ।