कोरोना भाइरसको कारण चीनमा २५ जनाले ज्यान गुमाए


काठमाडौँ, ९ माघ ।  कोरोना भाइरसको कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ ।

चिनियाँ नागरिकहरू चिनियाँ चन्द्र वर्ष मनाउने तयारी गरिरहँदा सरकार भने हुबेई प्रान्तमा घातक कोरोना भाइरससँग कसरी लड्ने भन्ने तयारीमा रहेको छ । कोरोना भाइरसको प्रकोप बढेसँगै बेइजिङ र हङकङले केही ठुला चाडपर्वहरूको आयोजना रद्द गरेका छन् ।

चिकित्सकहरूले यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने बताएपछि मानिसको ठुलो भिड एक साथ भेला हुन रोक लगाइएको हो । भाइरस फैलन नदिन एक करोड १० लाख जनसङ्ख्या भएको वुहान सहरका साथै भएको ह्वाङ्ग गाङ्ग तथा इजौ सहरमा पनि यातायातमा प्रतिबन्ध लगाइएको हो ।

आठ सयभन्दा बढी सङ्क्रमित भइसकेका छन् । बिहीबार अमेरिकाले कोरोना भाइरसको दोस्रो संदिग्ध घटनामा अनुसन्धान भइरहेको बताएको छ । यो भाइरसको सङ्क्रमण चीनबाहेक अमेरिका, जापान, थाइल्यान्ड र दक्षिण कोरियामा पनि देखिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्