कोरोना भाइरसले सङ्क्रमण फैलिँदै : पर्यटकको स्वास्थ्य परीक्षण गरिने


काठमाडौँ, ९ माघ ।  कोरोना भाइरसले चीनमा हालसम्म १७ चिनियाँले ज्यान गुमाई सकेको छ ।

कोरोना भाइरसको सङ्क्रमण अमेरिका, थाइल्यान्ड, ताइपेइ, दक्षिण कोरिया, जापानलगायतका देशमा फैलिइसकेको छ । यसको सङ्क्रमण अन्य देशमा समेत फैलिन सक्ने थप जोखिम बढेको छ ।स्वास्थ्य अधिकारीहरूले बुधवारसम्म संसारभर ५८२ जनामा यो भाइरसको सङ्क्रमण देखिएको जनाएका छन् । त्यसमध्ये ५७१ जना चिनियाँ छन् । यो भाइरस सबैभन्दा पहिला वुहानमा रहेको हुवानान होलसेल सीफुड मार्केटबाट यो मान्छेमा सरेको थियो ।

कोरोना भाइरस थाइल्यान्ड, हङकङ, मकाउ, ताइवान, अमेरिका, जापान र दक्षिण कोरियासम्म फैलिइसकेको छ । कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि चीन सरकारले वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिदिएको छ । बिहीबार बिहानदेखि त्यहाँका बस, रेल, विमानस्थल, होटेल, रेस्टुरेन्ट बन्द गरिएका छन् । वुहानका मानिसलाई अत्यावश्यक काम नपरी बाहिर नजान भनिएको छ । एकाएक सबैथोक बन्द भएपछि दैनिक उपभोग्य सामानको भाउ ह्वात्तै बढेको छ ।

के हो कोरोना भाइरस ?

बिल्कुलै नयाँ प्रकारको यो रहस्यमय भाइरस गत डिसेम्बरमा पत्ता लागेको हो । बिरामीबाट लिइएको भाइरसको नमुना जाँचेर चिनियाँ अधिकारी र विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस भनेर पहिचान गरेका हुन् ।

कोरोना भाइरस विभिन्न प्रकारका हुन्छन् । यसमध्ये छ प्रकारका भाइरस मात्र मान्छेमा सङ्क्रमण हुने मानिन्थ्यो । यो नयाँ प्रकार पत्ता लागेसँगै यसको सङ्ख्या सात पुगेको छ । नयाँ भाइरसको ‘जेनेटिक कोड’ विश्लेषणबाट यसले मान्छेमा सङ्क्रमण गर्ने क्षमता अरू कोरोना भाइरसको तुलनामा धेरै भएको पत्ता लागेको छ । यो कोरोना भाइरसकै एक प्रकार ’सार्स’ जत्तिकै शक्तिशाली भएको जनाइएको छ ।

सार्स धेरै खतरनाक कोरोना भाइरस हो । चीनमा सन् २००२ मा ७७४ जनाको मृत्यु भएको थियो । यो नयाँ भाइरसको सङ्क्रमण हुँदा सामान्य रुघाखोकीका लक्षण देखा पर्छन्। असर गम्भीर भए मृत्यु पनि हुन सक्छ ।

युनिभर्सिटी अफ एडिनबराका प्राध्यापक मार्क वुलहाउसको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘जब हामीले यो नयाँ कोरोना भाइरस देख्यौँ, यसको असर यति धेरै खतरनाक किन छ भनेर बुझ्न खोज्यौँ । सामान्य रुघाको लक्षण देखाउने भए पनि यसको असर त्यतिमै रोकिँदैन। यो चिन्ताको विषय हो ।’

यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने अनुसन्धाताहरू बताउँछन् । यसरी सर्दैसर्दै यो मान्छेसम्म पुग्छ । यो कसरी र कस्तो अवस्थामा सर्दै आउँछ भन्नेबारे हालसम्म कुनै जानकारी छैन । नोटिङ्गम युनिभर्सिटीका जीव वैज्ञानिक जोनाथन बलका अनुसार यो बिलकुलै नयाँ भाइरस भएकाले धेरै जानकारी लिन सकिएको छैन । जनावरबाट सरेर मान्छेमा आएको उनको अनुमान छ । यसअघि आतङ्क फैलाउने सार्स भाइरस पनि बिरालो जातको जनावरबाट मान्छेमा सरेको थियो ।

कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन त्रिभुवन विमानस्थलमा यात्रुमाथि निगरानी

चीनमा कोरोना भाइसरको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ ।

श्वासप्रश्वासबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ ।

कोरोनाको जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको र रुघाखोकीलगायत श्वासप्रश्वासको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको महाशाखाले जानकारी दियो ।

विमानस्थल कार्यालयले पनि चीनको वुहान सहरबाट आउने यात्रुको निगरानी गर्न थालेको छ । विमानमा रुघाखोकी लागेका बिरामी भए वा नभएको बारे जानकारी लिने र त्यस्ता बिरामी पाइए उनीहरूको स्वास्थ्य परीक्षण गर्न पठाउने गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बताएका छन् ।

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको स्वास्थ्य परीक्षण

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको स्वास्थ्य परीक्षण गरिने भएको छ ।

जिल्ला सुरक्षा समितिको बुधवार बसेको बैठकले नाकाबाट पर्यटकको आवागमन बढ्दै गएको र चीनमा फैलिई रहेको कोरोना भाइरस भित्रने जोखिम बढेको कारण स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्