बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई भरतपुरमा भव्य स्वागत


चितवन, ८ माघ । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालको कार्यक्रममा सहभागी हुन आएकी बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई आज भरतपुरमा भव्यरुपमा स्वागत गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले औपचारिकरुपमा पञ्चैबाजाका साथमा राजकुमारी एस्ट्रिडलाइ स्वागत गरेका छन् । प्रमुख दाहालले यहाँको पर्यटकीय, भौगोलिक, सांस्कृतिक महत्त्वका विषयमा जानकारी दिएकोसाथै दाहालसँगै राजदूत थापाले जिल्लाको महत्त्वका बारेमा राजकुमारी एस्ट्रिडलाई अवगत गराएकी थिइन् ।
राजकुमारी एस्ट्रिडसँगै उनका श्रीमान् राजकुमार लोरेन्जसहित सात जनाको समूह सहभागी भएको थियो । यही माघ ५ गते नेपाल आएकी एस्ट्रिड ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

राजदूत थापाका अनुसार राजकुमारी एस्ट्रिडले नेपालका राष्ट्रपति, उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्री, पर्यटनमन्त्रीलगायतसँग भेट गरेकी छन् । यस्तै उनले भक्तपुरको दरबार क्षेत्र, बौद्धनाथ स्तूप, काठमाडौँका विभिन्न स्थलहरू र धनगढीको भ्रमण गरेकी छन् । राजकुमारी एस्ट्रिड आजै नवलपरासीबाट फर्किएर मेघौली बस्ने र दुई दिनसम्म चितवन राष्ट्रिय निकुञ्जमा निजी घुमफिरमा रहने राजदूत थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्