चाड पर्वमा खाइने परिकारहरूमा नेपाल आत्मनिर्भर छैन


काठमाडौँ ,१ माघ ।  माघे सङ्क्रान्ति चाड पर्वमा खाइने घिउ, चाकु, सख्खर, तरुल, तिलको लड्डु जस्ता परिकारहरूमा पनि नेपाल आत्मनिर्भर छैन ।

चालु आर्थिक वर्षको पाँच महिनामा ३७ लाख ४७ हजार ८९६ किलो सख्खर भारतबाट नेपाल भित्रिएको छ । उक्त आयातका लागि ५ करोड ८७ लाख रुपैयाँ नेपालबाट बाहिरिएको भन्सार विभागले बताएको छ ।

यस्तै तरुल र सखरखण्डमा पनि नेपालले भारतकै निर्भर हुनुपर्ने अवस्था छ । यस वर्ष पनि भारतबाट तरुल आयात भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ । बजारमा यस वर्ष भित्रिएको २४२ टन सखरखण्डमध्ये ८० टन भारतबाट आयात भएको थियो । यस्तै भारतबाट पुस महिनाभरिमा ४२ टन तरुल काठमाडौँ भित्रिएको छ ।

कालीमाटी बजारमा भित्रिएको १२ सय ९६ टन तरुलमध्ये सर्लाहीबाट ५ सय ५५ टन, धादिङबाट १५६ टन, नवलपरासीबाट १०२ टन, सुनसरीबाट १२१ टन, चितवनबाट ४२ टन, झापाबाट ४५ टन तथा गोरखाबाट २५ टन तरुल काठमाडौँ भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्