बेलबारीकी अलन कुमारी माझीको नोबेलमा स्तन क्यान्सरको सफल शल्यक्रिया


विराटनगर, २३ पुस । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । मोरङको बेलबारी–४ लामपानेकी ४४ बर्षीया अलन कुमारी माझीको दाहिने स्तनमा भएको क्यान्सरको सफल शल्यक्रिया गरिएको हो ।

क्यान्सरको सङ्क्रमण फैलिएको स्तन र काखी मुनीको गाँठोसमेत शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालिएको नोबेल शिक्षण अस्पतालका शल्यचिकित्सक डा.ओम विक्रम शाहले जानकारी दिए । माझीको स्तनमा करिब एक वर्ष अघि सानो घाउ निस्किएको थियो । त्यो बढ्दै गएपछि परीक्षण गराउने क्रममा क्यान्सर भएको पत्ता लाग्यो ।

घाउको उपचारका लागि नोबेल आई पुगेका उनीहरू क्यान्सर ‘थ्री स्टेज’ मा पुगेको थाहा पाएपछि आत्तिएका थिए । तर, अन्ततः शल्यक्रिया सफल भएपछि बिरामी र बिरामीका आफन्त हर्षित छन् । ‘क्यान्सर भएको थाहा पाउँदा अव के होला भनेर धेरै अत्तालिएका थियौ ।’ अनलकुमारीकी दिदी सवितादेवीले भनिन् ‘अप्रेसन राम्रो भयो र बहिनी ठिक भएकाले धेरै खुसी लागेको छ ।’

नोबेलका शल्यचिकित्सक डा.शाह नेतृत्वको चिकित्सकहरूको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रिया पश्चात् अव बिरामीको किमो थेरापी र रेडियो थेरापी गराउनु पर्ने डा.शाहले बताए । उनका अनुसार अप्रेसन गराउन ढिलाइ भएको भए क्यान्सरको सङ्क्रमण शरीरका अन्य भागमा समेत फैलिएर बिरामीको ज्यान नै जान सक्थ्यो ।

तर, अप्रेसन पश्चात् अब सोही क्यान्सरकै कारण बिरामीको मृत्यु हुने जोखिम टरेको डा.शाहको भनाई छ । नोबेलमा यसअघि पेनक्रियाज क्यान्सरको पनि सफल शल्यक्रिया गरिएको थियो । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्