चीनमा साइबर अपराधमा संलग्न १ सय २२ चिनियाँ नागरिक फिर्ता लगिए


काठमाडौँ, २३ पुस /  चीनमा साइबर अपराधमा संलग्न १ सय २२ चिनियाँ नागरिकलाई २ वटा जहाज चार्टड गरेर फिर्ता लगिएको छ । उनीहरूलाई गत पुस ७ मा जम्मा नौ घरमा छापा पारेर प्रहरीले पक्राउ गरेको थियो ।

कुन्मिङबाट चाइना इस्टर्नको जहाज र ग्वान्झाओबाट चाइना साउदर्नको जहाज उनीहरूलाई लिन काठमाडौँ अवतरण गरेका थिए । उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट हतकडी लगाएर प्रहरीको गाडीमा राखेर विमानस्थलसम्म लगिएको थियो।

चिनियाँहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले पुस ७ गते मनमैंजु, बाँसबारी र बुढानीलकण्ठका १० वटा घरमा छापा मारेर पक्राउ गरेको थियो ।

उनीहरूलाई अध्यागमन विभागले दुई हजार र एक हजार रुपैयाँ जरिवाना भराउने र ४ वर्षका लागि नेपाल प्रवेश निषेध गरिएको छ । भिसा र राहदानी नभएकाहरूका लागि आवश्यक कागजपत्र चिनियाँ दूतावासमार्फत प्राप्त भएको र उनीहरूलाई नेपालको अध्यागमन ऐनअनुसार कारबाही प्रक्रिया पुरा गरिएको हो ।

उनीहरू जस्ता गिरोहले ४ अर्व लगानीमा २१ बढी वैधानिक रूपमा खुलेका सफ्टवेयर कम्पनीहरू मार्फत चिनियाँ नागरिकहरूले चीनकै अर्थतन्त्र धराशायी बनाउन साइबर अपराध गरिरहेको चिनियाँ पक्षको भनाई छ ।

पक्राउ परेका चिनियाँबाट ७४७ थान मोबाइल, ल्यापटप ३३१, सिपियु ९८, मनिटर ९९, पेन्ड्राइभ २२, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान फेला परेको थियो।

उनीहरूले इन्टरनेट प्रविधिको उच्चतम प्रयोग गरी साइबर जन्य अपराध गरेको देखिएको भनिए पनि प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो। नियन्त्रणमा लिएका १ सय २२ जनामध्ये अधिकांश ४० वर्षभन्दा कम उमेर समूहका युवायुवती भएको खुलेको छ।

चीनको फुजियान तथा हङकङ, थाइल्यान्ड र ताइवानबाट चिनियाँ माफियाहरूको प्रलोभनमा नेपाल आएका हुन् ।

पर्यटक भिसामा नेपाल आएर घर भाडामा लिएर थुप्रै सङ्ख्यामा मोबाइल र कम्प्युटर राखी शङ्कास्पद रूपमा नियमित काम गर्ने गरेको पाइएपछि ती चिनियाँ नागरिकहरूलाई पक्राउ गरिएको हो । तर अनुसन्धानका क्रममा उनीहरूले नेपालविरुद्ध वा नेपालमा कसुर गरेको नदेखिए पछि चीन सरकारलाई फिर्ता गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमान्डुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । खास गरी उनीहरूले नेपालको भूमि प्रयोग गरेर अनलाइन चीन विरुद्ध साइबर अपराध गर्दे आएका थिए ।

चीनले कम्बोडिया, भियतनाम, फिलिपिन्स र लाओसपछि चीन विरुद्ध साइबर अपराधको ‘हब’ बन्दै गरेको विशेष सूचना पाएको थियो। नेपाल सरकारबाट यो सूचना पाएपछि उसले एउटा विशेष कारबाहीको पहल थालेको थियो।

चीनको गृह मन्त्रालय (मिनिष्ट्री अफ पब्लिक सेक्युरिटी) को एउटा विभागका निर्देशक वाङवाङ हो काठमाडौँ मिसनमा खटिए। नेपालमा पहिचान भएका ७० घरमा राती छापा मार्ने योजना बन्दै थियो। यसका लागि वाङवाङ आफै भेटघाटमा खटिएका थिए। उनले राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभाग हुँदै गृहका उच्च अधिकारीहरूसँग भेटघाट गरे।

नेपाल प्रहरीलाई गृहले आवश्यक कारबाहीका लागि निर्देशन दिएको थियो । प्रहरीका तर्फबाट तत्कालीन महानगरीय प्रहरी प्रमुख डिआइजी शैलेन्द्र थापा क्षेत्रीले नेतृत्व लिएका थिए। चीनले नेपालमा कारबाही थाल्नु अघि यु आइहाइ, झाङ झाङ्मु र चु चिङलाई खोजीदिन आग्रह गरेको थियो। नेपालमा बिजनेस भिसामा आउजाउ गरिरहेका उनीहरू शङ्काको पहिलो घेरामा थिए।

यसबाहेक याङ डोङ, जिआव चाव, चेन सितियान र वु रोङफेङ समेत चीनको खोजीमा थिए। तर उनीहरू सबै कारबाही अघि र पछि नेपालबाट भाग्न सफल भएको छ । उनीहरू भाग्न सफल भएपछि चीनले गृहका उच्च अधिकारीसँग आपत्ति जनाएको छ।

प्रतिक्रिया दिनुहोस्