सर्लाही, १८ पुस । सीमा अतिक्रमणको विषयले चर्चा लिई रहँदा नेपाल–भारत सीमा जोडिएका सर्लाही जिल्लाका सीमावर्ती दशगजा क्षेत्रमा निरीक्षण तथा अनुगमन गरेको छ ।
परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयसहितको प्रतिनिधिमण्डलको टोलीले छिमेकी मुलुक भारतसँग जोडिएका सीमा क्षेत्रको संयुक्त निरीक्षण तथा अनुगमन गरेका छन् ।
नेपालतर्फ सर्लाहीको पर्सा गाउँपालिकामा रहेका तीन, ब्रम्पुरी गाउँपालिकामा रहेका चार, मलङ्गवा नगरपालिकामा रहेका आठ सीमास्तम्भको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताएका छन् ।
यस क्षेत्रका स्थानीयवासी साँझ नेपाली हुने र बिहान उठ्दा भारतीय भइसकेको हुने गरेका छन् । यस क्षेत्रमा दिन प्रतिदिन सीमा मिचिनुको साथै साना तथा ठुला जङ्गेपिलर हराउने गरेका छन् ।
खुला सीमाका कारण आपराधिक गतिविधिहरू बढ्नुको साथै दिन प्रतिदिन सीमा मिचिएको र सीमास्तम्भ पनि दिन प्रतिदिन सारिने तथा हराउने गरेकोले स्थलगत निरीक्षण तथा अनुगमन गरिएको छ ।