काठमाडौँ, १५ पुस । भोलि (बुधवार) बाट औपचारिक रूपमा सुरु हुने नेपाल भ्रमण वर्ष–२०२० उद्घाटन कार्यक्रममा सहभागी हुन विदेशी पाहुना आउने क्रम सुरु भएको छ ।
बुधवार हुने भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रममा सहभागी हुन तीन देशका पर्यटन मन्त्रीलगायत विदेशी पाहुनाको टोली काठमाडौँ आइपुगिसकेको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सहभागी हुन मङ्गलवार छिमेकी देश चीनका सहायक पर्यटनमन्त्री मवङ सियाओफेङ नेपाल आइपुगेका छन् ।
यस्तै आइल्याण्ड मुलुक जमैकाका मन्त्री ओन मउङ म्यानमारका पर्यटनमन्त्री समेत नेपाल आइसकेका छन् । भ्रमण वर्ष कार्यक्रममा सहभागी हुन नेपाल आएका तीन देशका पाहुनाहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले स्वागत गरेका छन् । विदेशी पाहुना आउने क्रम निरन्तर रहने पर्यटन मन्त्रालयले जनाएको छ ।
‘नेपाल भ्रमण वर्ष २०२०’ को यही जनवरी १ (पुस १६ गते) भव्य रूपमा उद्घाटन गर्ने नेपालको तयारी छ । उद्घाटन समारोहमा चीन, भारत, जमैका, म्यानमारलगायत देशका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन् भने १८ देशका ३५ भन्दा बढी पत्रकारको उपस्थिति रहने जनाइएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिको रूपमा मन्तव्य दिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले जानकारी दिएका छन् ।
भ्रमण वर्षको तयारीबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुरज वैद्यले उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । जनवरी १ अर्थात् पुस १६ गते दिउँसो ४ बजे बाट औपचारिक कार्यक्रम सुरु हुने उनले जानकारी दिए । उद्घाटन समारोहमा सामाजिक सङ्घ संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले मार्च पास गर्ने उनले बताए ।
संयोजक वैद्यले दशरथ रङ्गशालामा उपस्थित हुने सबैलाई पासको व्यवस्था गरेको भन्दै सर्वसाधारण तथा आगन्तुकलाई ३ देखी ३ः४५ सम्म भित्र गईसक्नुपर्ने बताएका छन् । भिभिआइपी भने ४ बजे उपस्थित हुने उनले जानकारी दिए । त्यसपछि ७ बजेसम्म कार्यक्रम हुने तालिका रहेको छ ।
कार्यक्रममा नेपाली सांस्कृतिक झाँकीसहित राष्ट्रिय कलाकारमार्फत साङ्गीतिक कार्यक्रम समेत छ ।
त्यस्तै, विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत जनवरी ७ मा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ । यसबाहेक बुधवार काठमाडौँसहित सबै प्रदेशमा समेत भ्रमण वर्ष उद्घाटन हुनेछ ।