काठमाडौँ, १३ पुस । नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आबद्ध जातीय संस्थाहरूले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सक्रिय सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।
आगामी १ जनवारी २०२०मा दशरथ रङ्गशालमा हुने समुद्घाटन कार्यक्रममा जातीय पहिचानसहित सहभागी हुने र वर्षभरी हुने कार्यक्रमहरूमा पनि सक्रिय सहभागिता जनाएका हुन् ।
आइतबार सिंहदरबारस्थित मन्त्रालयको सभा हलमा भएको छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन सहकार्य, सहभागिता र सहयोगको आह्वान गरेका थिए ।
छलफल कार्यक्रममा आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन आदिवासी जनजाति महासङ्घ र महासंघमा आबद्ध जातीय संस्थाहरूको सक्रिय सहभागिता रहने बताए । अध्यक्ष बरामले नेपालको पर्यटनको प्रमुख आधार प्रकृति र संस्कृति भएको बताउँदै आदिवासी जनजातिहरूको संस्कृति नै नेपालको पहिचान र गर्व भएको बताए ।
अध्यक्ष बारमले नेपाल आदिवासी जनजाति महासंघलाई पनि भ्रमण वर्षको सदस्य संस्था बनाएकोमा खुसी व्यक्त गरे । अध्यक्ष बारमले भ्रमण वर्षलाई सफल बनाउन महासंघमा आबद्ध संस्थाहरू, जिल्ला समिति र विदेशमा रहेका शाखा पनि सक्रिय हुने बताए ।
मन्त्री भट्टराईले महासङ्घका अध्यक्ष लगायत जातीय संस्थाका अध्यक्षहरूले उठाएको विषयमा बोल्दै नेपालका आदिवासी जनजाति, जातजातिहरूको संस्कृति चाडपर्वहरूको परिचय समेटिएको सांस्कृतिक क्यालेन्डर प्रकाशन गरिने बताए ।
आदिवासी जनजाति महासंघलगायत संस्थाहरूसँग समन्वय गरेर जानकारी मूलक क्यालेन्डर प्रकाशन गरिने मन्त्री भट्टराईको भनाई छ । महासङ्घका अध्यक्ष लगायतले आदिवासी जनजातिहरूका सांस्कृतिक पर्वहरूको सरकारी क्यालेन्डरमा प्रकाशनमा नसमेटिएको गुनासोपछि मन्त्री भट्टराईले यो प्रतिबद्धता जनाएका हुन् । यसै गरी मन्त्री भट्टराईले आदिवासी जनजाति संग्राहलयको स्थापना गरिने बताए ।
कार्यक्रममा आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष गोविन्द छन्त्याल, नेपाल शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पा, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम, थकाली सेवा समाजका अध्यक्ष सोमप्रसाद तुलाचन, नेवाः दे दबुका महासचिव माइलाबाबु देउला, किराँत राई यायोक्खाका महासचिव जनक राई, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी उपाध्यक्ष जुनिता राई, आदिवासी जनजाति युवा महासङ्घका महासचिव हेमन्त राई लगायतले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सक्रिय हुने प्रतिबद्धता जनाए ।