ईरानराईको गजल


ईरानराई –

                     गजल

हाम्रो मातृभूमिमाथि तिमी कब्जा नजमाऊ भारत सरकार
आफ्नो माटो फिर्ता लिन खुट्टा नकमाऊ नेपाल सरकार

हाम्रा वीर पुर्खाहरूको ज्यानले जोगाएका नासो हुन् ती
लिपुलेक, कालापानी, लिम्पियाधुरा नगमाऊ नेपाल सरकार

ऐतिहासिक नक्सा, सन्धी, सम्झौता र अभिलेख हुँदा पनि
छिमेकीले कुरो बुझ्दैन भने जुत्ता नसमाऊ नेपाल सरकार

आधा–आधा बराबर भन्दै लान्छ पानी सिंचाईको धेरै
हेलिकप्टर चढ्न हरिया सालका टुना नथमाऊ नेपाल सरकार

मित्र भन्छ तर नोटबन्दीको भा.रु. साट्न मान्दैन कहिल्यै
रेल र तेलका लोभमा नेता, सत्ता नरमाऊ नेपाल सरकार

कुटनैतिक, राजनैतिक सम्वादले टेर्दैन भने हैकमवाद
अन्तर्राष्ट्रियकरणपछि लड्छौँ युद्ध, मुद्दा नदबाऊ नेपाल सरकार

हाम्रो मातृभूमिमाथि तिमी कब्जा नजमाऊ भारत सरकार
आफ्नो माटो फिर्ता लिन खुट्टा नकमाऊ नेपाल सरकार ।

(रचना मिति, समय : २०७६/०७/२८ गते बिहिबार, बिहान ३ः०० बजे)

प्रतिक्रिया दिनुहोस्