लुटपाट, आगजनी र अराजक क्रियाकलापमा संलग्न २७ जनालाई पक्राउ


काठमाडौं । देशभर फैलिएको अशान्त वातावरणबिच नेपाली सेनाले लुटपाट, आगजनी र अराजक क्रियाकलापमा संलग्न २७ जनालाई पक्राउ गरेको जनाएको छ। भदौ २४ गते राति १० बजेदेखि सेना र अन्य सुरक्षा निकाय व्यापक रूपमा परिचालन भएपछि आज बिहानसम्म ती व्यक्तिहरू नियन्त्रणमा लिइएको हो।

सेनाले जारी गरेको विज्ञप्तिमा काठमाडौँलगायत विभिन्न स्थानमा विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै जनधनमा क्षति पुर्‍याउने उद्देश्यले विध्वंसात्मक कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका उल्लेख छ। सेनाले तीन वटा वारुण यन्त्र प्रयोग गरी विभिन्न स्थानमा लागेको आगो नियन्त्रणमा लिन खोजी कार्यसमेत अघि बढाएको छ।

यस्तै, काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न समूहबाट ३३ लाख ७० हजार नगद बरामद गरिएको छ। साथै राजधानीका विभिन्न स्थानबाट २३ नाल र पोखराबाट ८ नाल गरी ३१ वटा हतियार बरामद गरिएको छ। बरामद सामग्रीमा म्यागजिन र गोलीगठ्ठा समेत समावेश रहेको सेनाले जनाएको छ।

सुरक्षाकर्मीहरू पनि घटनामा घाइते भएका छन्। हालसम्म २३ जना नेपाल प्रहरी र तीन जना सर्वसाधारण घाइते भएको र उनीहरूको सैनिक अस्पतालहरूमा उपचार भइरहेको जानकारी सेनाले दिएको छ। सैनिक प्रवक्ताले देशको शान्ति, सुरक्षा र राष्ट्रिय सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राखेर सबै निकाय संयोजित रूपमा परिचालन भइरहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्