बेलबारी शैक्षिक प्रदर्शनी फलो अप : नृत्य प्रतियोगितामा आदर्श र मोरङ चिनारी प्रथम


बेलबारी । बेलबारीमा जारी प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीमा आयोजना भएको लोकनृत्य प्रतियोगिता आदर्श इङ्ग्लिस स्कुल र मोरङ चिनारी प्रथम भएका छन् । बेलबारी नगरपालिकाको आयोजनामा बिहीबारबाट सुरु भएको शैक्षिक प्रदर्शनीमा ४ र ५ गते सम्पन्न प्रतियोगितामा ती विद्यालयले क्रमशः सिनियर र जुनियरतर्फ प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।

२४ ओटा विद्यालयलाई पछि पार्दै सिनियरतर्फ आदर्श इङ्ग्लिस स्कुल, बेलबारी १ प्रथम हुँदा गुरुकुल इङ्ग्लिस स्कुल, बेलबारी ३ र डेल्टा इङ्ग्लिस स्कुल, बेलबारी ४ क्रमशः दोस्रो र तेस्रो भएका छन् । त्यस्तै धनपाल मावि, बेलबारी –५, कसेनी र जनता नमुना मावि, बेलबारी –९, बाहुनीले चौथो र पाँचौँ स्थान हासिल गरेका छन् ।

३० ओटा विद्यालयलाई पछि पार्दै जुनियरतर्फ मोरङ चिनारी इङ्ग्लिस स्कुल, बेलबारी २ प्रथम हुँदा लिटिल बुद्ध इङ्ग्लिस स्कुल, बेलबारी ९ मा रहेको डाँगीहाट र  डेल्टा इङ्ग्लिस स्कुल, बेलबारी ४ ले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै माउन्ट एभरेस्ट इङ्ग्लिस स्कुल, बेलबारी –११, लक्ष्मीमार्ग र आदर्श इङ्ग्लिस स्कुल, बेलबारी १ ले चौथो र पाँचौँ स्थान हासिल गरेका छन् ।

प्रतियोगिताको निर्णायकका रूपमा सिनिरयतर्फ नृत्य निर्देश सङ्घ नेपालका केन्द्रीय सदस्य प्रमीला कार्की र नृत्य निर्देशक सङ्घ नेपालका वाग्मती प्रदेश अध्यक्ष कल्पनाराजचन श्रेष्ठ रहेका थिए । त्यस्तै ४ गते सम्पन्न जुनियरतर्फको निर्णायकमा नित्य निर्देशक सूर्या कार्की र राष्ट्रिय नाचघरका पूर्व महाप्रबन्धकसमेत रहेका नृत्य निर्देशक राजेश थापा रहेका थिए ।

प्रदर्शनीको तेस्रो दिन शनिवार सिनिरयतर्फको नृत्य प्रतियोगिता सञ्चलन भएको थियो भने भगवती मावि, बेलबारी ३ र जनता नमुना माविका विद्यार्थीहरूको नाटक प्रहसन गरेका थिए । त्यस्तै आइतबार भने प्यानल डिस्कसन र समापनका कार्यक्रम रहेको आयोजक संस्था बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख एलिना बस्नेतले जानकारी दिइन् ।  बेलबारी नगरपालिकाको आयोजनामा बिहीबारदेखि जारी प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीको  उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गरेका थिए । 

 नृत्यमा संस्थागत विद्यालयको वर्चस्व बेलबारीमा जारी विद्यालय तह शैक्षिक प्रदर्शनीमा सञ्चालन भएको नित्यतर्फको परिणामले संस्थागत विद्यालयको वर्चस्व देखिएको छ । सहभागिताका हिसाबले प्रदर्शनीमा सामुदायिक तथा संस्थागत विद्यालयको प्रतिस्पर्धात्मक देखिए पनि नृत्यतर्फको परिणामले भने यस्तो अवस्था देखाएको हो ।

सिनियर र जुनियरको पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ गरी विभिन्न १० ओटामध्ये ८ ओटा पुरस्कार संस्थागतले हाता पार्दा २ ओटा पुरस्कार मात्र सामुदायिक विद्यालयले हाता पारेको देखिन्छ । त्यसमा पनि पहिलो, दोस्रो र तेस्रो स्थानमध्ये कुनै पनि स्थान सामुदायिक विद्यालयले ल्याउन सकेनन् । 

सांस्कृतिक क्षेत्र तथा अतिरिक्त क्रियाकलापका लागि सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयले ठुलो लगानी गरिरहेको यो परिणाम पनि त्यसैको प्रतिफल रहेको शिक्षा सन्देश इङ्ग्लिस स्कुलका प्रिन्सिपल राजेश खत्रीको प्रतिक्रिया रहेको छ । उनी भन्छन्, ‘धेरैजसो संस्थागत विद्यालयले यस्ता क्रियाकलापका लागि शिक्षकको व्यवस्था गरेका छन् ।’

प्रिन्सिपल खत्रीको यस भनाइप्रति सामुदायिक विद्यालयका धेरै शिक्षकहरूले पनि सहमति जनाएका छन् । अतिरिक्त क्रियाकलापका लागि पनि नगरपालिकाले शिक्षक तथा यसमा लाग्ने सामग्रीको व्यवस्थापन गर्नुपर्नेमा उनीहरूको जोड रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्