नोबेल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि नेपाललाई (फोटो फिचर)


मोरङ, ८ मङ्सिर । मोरङको बेलबारीमा सञ्चालित नोबेल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि नेपाली टिमले जितेको छ । १९ स्वर्ण, २३ रजत र २५ कांस्य गरी कुल ६७ पदकसहित नेपालले प्रतियोगिताको उपाधि जितेको हो ।

त्यस्तै उपविजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कांस्य गरी कुल १५ पदक जितेको छ । यता २ स्वर्ण र ९ कांस्य गरी कुल ११ पदक जित्दै भारतको सिक्किमले प्रतियोगिताको तेस्रो स्थान प्राप्त गरेको छ । विजेता नेपाली खेलाडीको तर्फबाट खोटाङले सर्वोत्कृष्ट १२ स्वर्ण, ५ रजत र ९ कांस्य पदक जितेको छ । धरानले ६ स्वर्ण, १३ रजत र ११ कांस्य पदक पाएको छ भने इटहरीको शान्तिनगरले ५ स्वर्ण, ५ रजत र ५ कांस्य पदक जितेको छ ।

बेलबारी सितोरियो कराँते सघंको आयोजनामा बेलबारीमा भएको नोबेल अन्तर्रा्ष्ट्रिय कराँते प्रतियोगिता, नेपालमा नै पहिलो पटक ६ वटा देशका खेलाडीहरूको सहभागितामा सम्पन्न भएको, राष्ट्रिय खेलकुद परिषद् केन्द्रीय कर्मचारी सङ्घका उपाध्यक्ष तथा प्रदेश नं. १ का अध्यक्ष राजु महर्जनले बताए । महर्जन नेपालका पहिलो एसियन रेफ्रि हुन ।

६५० भन्दा बढी प्रतियोगी खेलाडीहरूको सहभागितामा, बेलबारीमा सम्पन्न कराँते प्रतियोगिता, नेपालमा नै दोस्रो ठुलो संख्याको रहेको महर्जनले दाबी गरेका छन । उनले भने, ‘८ वर्ष अगाडी काडमाण्डौँमा अन्तर्रा्ष्ट्रिय हाइ स्कुल कराँते च्याम्पियनसिप हुँदा यत्रो ठुलो संख्यामा प्रतियोगीहरू सहभागी हुने गर्थे, यो नेपालको इतिहासमा बेलबारीमा दोस्रो पटक रेकर्ड बनेको छ ।’ नगद पुरस्कारको हकमा पनि नेपालमा नै पहिलो पटक ठुलो राशिको प्रतियोगिता भएको महर्जन बताउँछन् ।

मर्हजनका अनुसार विदेशी देशको सहभागिता र नगद पुरस्काको हकमा बेलबारी सितोरियो करातेले दुइवटा नयाँ रेकर्ड बनाएको छ ।

प्रतियोगिताको विजेता नेपाली टोली मध्येको सर्वोत्कृष्ट पदक प्राप्त गर्ने खोटाङले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । नेपाली टिम मध्ये निकटतम पदक विजेता धरानले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यता, कुल १५ पदक जित्न सफल इटहरीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

विजेता टिम तथा खेलाडीहरूलाई नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपाने, प्रतियोगिता आयोजक समिति अध्यक्ष सञ्जय सुवेदी, प्रमुख प्रशिक्षक कुन्ती गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

नोबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराँते सङ्घले मोरङ जिल्लामै पहिलो पटक अन्तर्रा्ष्ट्रिय स्तरको दुई दिने प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा ८५ स्वर्ण, ८५ रजत र १७० कांस्य पदकका लागि ६ देशका ५२ टिमबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नेपालसहित भारत, भुटान, बङ्गलादेश, श्रीलंका र पाकिस्तानका ६ सय ५० खेलाडी सहभागी थिए ।

संघका अध्यक्ष सञ्जय सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने जे.बि थुलुङले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्