अशोक गुरुङ –बेलवारी, ७ मङ्सिर । बेलबारीमा नोबेल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आज (शनिवार) देखी सुरु भएको छ । प्रतियोगितामा ६ वटा देशका खेलाडीहरू सहभागी भएका छन् । कार्यक्रमको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले विदेशी पाहुना खेलाडीहरूलाई स्वागत तथा सम्मान गर्न आव्हान र आग्रह गर्दै प्रतियोगितालाई प्रदेश सरकारको सबै तरिकाको सहयोग रहने बताएका छन् । प्रतियोगिताले खेलाडीहरूलाई उज्ज्वल भविष्य बनाउन सहयोग गर्ने बताए । खेलकुदले भिजिट नेपाल २०२० लाई पनि सफल बनाउनको निम्ति एउटा आधार तयार गर्न गइरहेको मुख्यमन्त्री राईले बताएका छन् ।
खेलकुदलाई बेवास्ता गरे मुलुकको समृद्धिमा बाधा पुग्ने उनले बताए । खेलकुदलाई उच्च प्राथमिकतामा राखेर तिनैवटा तहमा अगाडी बढ्नु पर्ने बताएका छन् । सिङ्गो नेपाल सरकारले विनियोजन गरेको खेलकुद शिरसकको बजेट बराबर १ नं. प्रदेशमा विनियोजन गरेको जनाएका छन् । खेल विधाका सबै खेललाई सम्मान ढङ्गबाट अगाडी बढाउने उद्देश्यले रु.४२ करोड विनियोजन गरेको बताएका छन् ।
नोबेल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको अवसरमा विशेष गरी खेल विकासको लागि योगदान पुराउने र समाजसेवीलाई सम्मान गरिएको छ । मरणोप्रान्त स्व.मोहन थापा, फुटबल खेलाडी सलबहादुर धिमाल, कराँते खेलाडी तारा बहादुर कार्की, भिमबहादुर तामाङ र पूर्व कराँते खेलाडी तथा पत्रकार खनेन्द्रकुमार राई(अर्जुन)लाई मुख्यमन्त्री राईले सम्मान गरेका छन् । सम्मानितहरूलाई बेलवारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले दोसल्ला बढाएका थिए भने मुख्यमन्त्री राईले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बङ्लादेश र भुटान गरी ६ देशका खेलाडीहरू विभिन्न तोलमा काता र कुमितीमा भिड्दै छन् । प्रतियोगितामा प्रथम हुने समूहले नगद पुरस्कार रु.१ एक लाख, दोस्राले रु.७५ हजार र तेस्रोले रु.५० हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
उद्घाटन कार्यक्रममा प्रतियोगिताको जुनियर तर्फका विजेता खेलाडीहरूलाई मुख्यमन्त्री राई र बेलबारी नगरपालिकाका प्रमुख सुबेदी दुवैले मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रतियोगितामा करिब ६ सय ५० भन्दा बढी खेलाडीहरू सहभागी रहेको आयोजकले जनाएका छन् ।
उद्घाटन कार्यक्रममा बेलवारी सितोरियो कराँते सङ्घका सदस्य सचिव तथा डोजो कराँते प्रमुख प्रशिक्षक कुन्ती गुरुङले स्वागत मन्तव्य राख्दै कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रमको मुख्य प्रायोजक नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगर रहेको गुरुङले बताइन । सङ्घका अध्यक्ष सञ्जय सुबेदीको अध्यक्षतामा भएको कार्यक्रम भोलि आइतबार सम्पन्न हुनेछ । कार्यक्रमको सञ्चालन जेबी थुलुङले गर्दै छन् ।