तारा पराजुली – तराई झरेपछि मैझारो मान्ने र लुतो फाल्ने खासै अनुभव गर्न पाइएन । जहाँ साउने सक्रान्तीको दिन सुनसानजस्तै देख्थेँ अनि पहाडमा बस्ने बुबालाई फोन गरेर सोधेँ-बुबा ! लुतो पहाडमा मात्र हुन्छ ? मधेसमा लुतो हुँदैन ? ठाउँ अनुसार लुतो फाल्ने प्रचलनका बारे बुबाले बताउनुहुन्थ्यो । पहाड बसुन्जेल हरेक साल हामी तामझामका साथ लुतो फाल्ने गर्थ्यौँ ।
साउन १ गतेका दिन । विशेष गरी रोपाइँको मैझारो मान्ने दिन,मकै चढाउने दिन, अनि लुतो फाल्ने दिन यी तीनै ओटा रमाइला संयोगहरू एकै दिन पर्नाले मन फुरुङ्ग बनाउँथे । साँझमा लुतो फाल्न म बिहानदेखि चाहिने सामाग्री जुटाउन लाग्थेँ परम्पराअनुसार लुतो फाल्ने कर्म श्रावण १ गते साँझ गरिन्छ ।
यस दिन भलायोको पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला, लुतेझार, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै ,निबुवा, अनार, नसपाती, केरा, उखु आदि फलफूलले कण्डारक नामक राक्षसको पूजा गरिन्थ्यो।बुबा धेरै बेरसम्म जपतप, भजन र आरोग्यको कामना गर्दै पूजा गर्नुहुन्थ्यो। गाउँभरि बास्ना आउने खाट्टी धुपीको पात घिउमा भिजाएर धुपौरामा मीठो धूप बाल्नुहुन्थ्यो । आमा फलामे ताइमा चामलको पिठोको बाबर पकाउनुहुन्थ्यो।दनदनी बलेको आगोको रापमा कुरिलोको हरियो बोट सेकाएर चटट चटट आवाज निकालेर लुतो डढाइन्थ्यो । अनि घरको चारैतिर झर्झर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्थ्यो ।
यसरी लुतो फ्याँक्दा नाङ्लो र काँसाको थाल खुब आवाज दिएर बजाइन्थ्यो। लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एक छिन घरको ढोका बन्द गर्ने चलन थियो । नाङ्लो ठटाउने, थाल, डमरु घण्टा बजाउने सवालमा दाजुभाइसँग खुब विवाद पर्थ्यो तर रमाइलो विवाद । मेरो स्मरणमा आज पनि ताजै छ। हाम्रो गाउँ (साङ्पाङ्) बाट बोया ठिक वारिपारि पर्छ। बिचको खोँचमा बाह्रै महिना अविरल सङ्लो पानी बगिरहने दुई ओटा ठूल्ठूला खोलाहरू छन् । नखुवा र हार्पा । बोयाले ठुलो स्वरले बोले साङ्पाङ्ले सुन्छ भने साङ्पाङे ठुलो आवाजले बोले बोयाले सुन्छ।
रमाइलो पक्ष के छ भने, हरेक वर्ष लुतो फाल्ने दिन साङ्पाङबाट हामी झरिलो आगो सहितको अगुल्टो फाल्दै `लैजाऊ! बयाली लुतो लैजाऊ´ भनेर कराउँथ्यौँ भने बोयालीहरुले पारिबाट त्यसै गरी `लैजाऊ ! साङ्पाङे लुतो लैजाऊ´ भन्दै हाम्रो गाउँतिर अगुल्टो फालेर कराएको आवाज सुनिन्थ्यो। साङ्पाङ र बोयाको दोहोरी लुतो हेर्न र सुन्न झन् रमाइलो लाग्थ्यो ।
कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार झरिबादलसँग रुझ्दैभिज्दै असार महिनाभर गरिएको खेतीपातीका कारण शारीरिक र मानसिक रूपमा थाकेका किसानहरू हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन्। सौर्यमानअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखा माथि जाने भएकाले साउने सङ्क्रान्ति अर्थात् साउन १ गतेका दिनलाई कर्कट सङ्क्रान्ति भन्ने गरिन्छ।
असार महिनाभरि खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने सम्भावित छालाको रोगबाट छुट्करा पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउने प्राचीन मान्यता र विश्वास अनुसार लुतो फाल्ने प्रचलन छ।