मोरङका अजय दर्जी र योहाना लिम्बु साफ यू–१७ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा


बेलबारी । श्रीलङ्काको राजधानी कोलम्बोमा आगामी सेप्टेम्बर १५ देखि सुरु हुने साफ यू–१७ च्याम्पियनसिपका लागि ४५ खेलाडीमध्ये मोरङका दुई प्रतिभावान् युवा खेलाडी बन्द प्रशिक्षणमा परेका छन् । वर्ष १६ का अजय दर्जी र योहाना लिम्बु यस पटक नेपालको यू–१७ टोलीमा स्थान पाउने सम्भावनासहित प्रशिक्षणमा रहेका हुन् ।

योहाना लिम्बु मोरङको केराबारी गाउँपालिका–९ का निवासी हुन् भने अजय दर्जी बेलबारी–१ मा बसोबास गर्दै आएका छन् । दुबै जना बाल्यकालदेखि नै बेलबारी फुटबल क्लबमार्फत फुटबलमा सक्रिय हुँदै आएका हुन् । क्लबका अध्यक्ष रसिन लामाका अनुसार उनीहरू दुवैले लामो समयदेखि निरन्तर अभ्यास गर्दै आएका कारण पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् ।

अजय र योहाना दुवै अहिले काठमाडौँस्थित सातदोबाटो यूथ क्लबबाट ए डिभिजन स्तरको प्रतिस्पर्धात्मक फुटबल खेल्दै आएका छन् । क्लबमार्फत निरन्तर अभ्यास र राष्ट्रिय स्तरको अनुभवले उनीहरूलाई यू–१७ राष्ट्रिय टोलीमा प्रवेश गर्ने अवसर दिलाएको अध्यक्ष लामाले बताए ।

नेपालका लागि महत्त्वपूर्ण मानिएको साफ यू–१७ च्याम्पियनसिपमा मोरङका दुई खेलाडीको सहभागिताले स्थानीय स्तरमा खेलकुदको क्षेत्रमा उत्साह थपिएको छ । बेलबारी फुटबल क्लबले पनि आफ्ना खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा मौका पाएकोमा खुसी व्यक्त गरेको छ ।

दक्षिण एसियाली फुटबल संघ (साफ) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले प्रतियोगिताको पहिलो खेल सेप्टेम्बर १५ मा आयोजक श्रीलङ्काविरुद्ध खेल्ने छ । यसअघि ४५ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् जसबाट अन्तिम २३ जनाको छनोट गरी टोली कोलम्बो पठाइने छ ।

मोरङको खेल क्षेत्रमा बेलबारी फुटबल क्लबले लामो समयदेखि निरन्तर योगदान दिँदै आएको छ। क्लबले बाल्यकालदेखि नै स्थानीय युवा खेलाडीलाई फुटबलमा आकर्षित गर्दै उनीहरूलाई प्रशिक्षण र प्रतियोगिताको अवसर प्रदान गर्दै आएको छ।

स्थानीय, जिल्ला र राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउँदै आएको क्लबले बेलबारीलाई फुटबलमैत्री नगरपालिका बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। अजय र योहाना साफ यू–१७ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा छनोट हुनु क्लबकै उपलब्धि मानिन्छ।

प्रतिक्रिया दिनुहोस्