कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतमुक्त


काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतमुक्त गरिएको छ । ललितपुर प्रहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने शर्तनामा गराएर रिहा भएको कागज दिएको छ ।

धनुषा प्रहरीको निर्णयअनुसार अस्पतालमै कागज गरेर रिहा गरेको ललितपुर जिल्ला प्रहरी परिसरका उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारका सदस्यलाई जिम्मा लगाउने गरी हाजिर जमानीमा छाड्ने निर्णय गरी ललितपुर प्रहरीमा पठाएको थियो । सिरोहियालाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था विद्यमान नरहेको भन्दै हाजिर जमानीमा छाडिएको प्रहरीले जनाएको छ ।

सिरोहियाको अहिले ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनी विगत ६ दिनदेखि उपचारमा छन् । उनलाई मङ्गलवार मात्र हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो । उनलाई जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मुख्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गर्दा प्रहरीले काठमाडौँबाट जनकपुरसम्म गाडीमै लगेको थियो । धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा बिरामी परेपछि उनी जेठ ११ गते जनकपुरकै स्थानीय अस्पतालमा अस्पतालमा भर्ना भएका थिए । पछिल्लो पटक सोमबार ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट प्रहरीले अनुमति पाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्