६८ वर्षको उमेरमा प्रख्यात गजलकार प्रकट पंगेनीको निधन


काठमाडौं । प्रख्यात गजलकार प्रकट पंगेनीको ६८ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा आज पोखराको मणिपाल अस्पतालमा निधन भएको हो । मृगौंला (किड्नी) र फोक्सोमा संक्रमण देखिएपछि हिजो अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा निधन भएको कवि तीर्थ श्रेष्ठले जानकारी दिए । पंगेनीको बुधवार बिहान १२ बजे मणिपाल अस्पतालबाट शवयात्रा सुरु गर्ने र फूलबारी घाटमा अन्त्येष्टि गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । उनी कास्कीको रूपा गाउँपालिका–५ मा जन्मिएका हुन् ।

प्रकट प्रणयमय गजलका लागि प्रख्यात छन् । उनको ‘जूनको चिठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’ नामक २ गीत सङ्ग्रह प्रकाशित छन् । यसका साथै प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उनका प्रकाशित कृति हुन् ।

प्रकटले रचना गरेका ५० भन्दा बढी गीत रेकर्ड भएका छन् । तीमध्ये ‘तगारो छेउ आएर पनि’ लगायत केही गीत लोकप्रिय छन् । उनका गीतमा विमल पराजुली, अमृत गुरुङ (नेपथ्य), यश कुमार, मदनकृष्ण श्रेष्ठलगायतले स्वर भरेका छन् । शृङ्गारिक गजल बढी लेख्ने भएकाले उनलाई ‘प्रणय गजलकार’ भनेर चिनिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्