दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतको फैसला : मेडिकल कलेज सम्बधन दिन सरकारलाई आदेश


काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ । न्यायाशीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै प्रसाईँलाई मेडिकल कलेज सम्बधन दिन सरकारलाई आदेश दिएको छ ।

बीएण्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो, जसको आज आदेश दिइएको हो । मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईँले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए ।

‘रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ’, सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने, ‘आदेशको प्रति हामीले पाइसकेका छैनौँ । निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिन्छ । विस्तृत विवरण त संक्षिप्त आदेश वा फैसलाको पूर्ण पाठ प्राप्त भएपछि थाहा होला ।’

मेडिकल व्यवसाय हुँदै राजनीतिक कनेक्सन बनाएका दुर्गा प्रसाईँले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो । आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्