एकल महिला माथि हातपात, धानको कुन्युमासमेत आगजनी : सहयोग नपाएको पीडितको गुनासो


मोरङ । एकल महिला भएकै कारण आफूमाथि हेपेर हातपात, कुटपिट र खेतको कुन्युमासमेत आगजनी भए पनि न्याय र सरकारी निकायबाट उचित सहयोग नपाएको पीडित उमा राईले बताएकी छन् । घटना २०८० वैशाख १७ गतेदेखिको हो ।

सुनसरी इटहरी उपमहानगरपालिका—६ की ५४ वर्षीय उमा चाम्लिङ राई एकल महिला हुन् । उनको इटहरी पूर्व नजिकै सुन्दरहरैचा—४, बडहरा नयाँटोलमा १ बिगा २ कट्टा खेती जग्गा रहेको छ । इटहरी नजिकै भएको कारण उनी घरैबाट धाएर त्यहाँ उमा आफैले धान लगायतका बाली लगाउँदै आएकी छन् ।

खेतीबाट फर्किने क्रममा २०८० वैशाख १७ गते खेत नजिकै घर भएका भूपाल दाहालले माते झैँ गर्दै बाटो छेक्न खोजे । सामान्य विवाद परिरहँदा भूपालको पत्नी ४१ वर्षीय जुनु भनेर चिनिने बालकुमारी दाहालले झोकिँदै आएर लछारपछार पार्दै लडाएर टाउकोमा ढुङ्गा प्रहार गरी घाइते बताए । त्यो घट्नामा छिमेकीहरूले नछुटाएको भए ती परिवारले आफूलाई मार्नेसम्मको आक्रोश देखाएको, बालकुमारीले अहिले बाँचे पनि पछि मारिदिने मुखैले भनेका थिए ।

बालकुमारी दाहालको ढुङ्गा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेको उमाले आफ्नै खर्चमा उपचार गरिन र इलाका प्रहरी कार्यालय बेलबारीमा ज्यान मार्ने उद्योगमा जाहेरी गरिन । कुटपिट गर्ने बालकुमारी दाहाललाई प्रहरीले पक्रेर केही दिन राखे । यो बिचमा आफूलाई राजनीतिक/सामाजिक काम गर्छु भन्नेहरू अन्याय गर्नेहरूलाई कारबाही गर्न सहयोग गर्नुभन्दा मिल्न दबाब आएको पीडितको भनाइ छ ।

मुद्दा जिल्ला अदालत मोरङ पुग्यो । अदालतले बालकुमारीलाई १५ हजार धरौटीमा छाडिएपछि आफूमाथि झनै असुरक्षा र अन्यायमा परेको महसुस भएको उमा बताउँदै आएकी छन् । बालकुमारी दाहाल छुटेर आएपछि धम्क्याउने र दुःख दिने काम फेरी सुरु भयो । उमाको खेत बालकुमारी दाहाल परिवारको घर छेउमै (सडक पश्चिम)मा पर्छ । लगाएको बिरुवा काटी दिने, बस्तुलाई बाली ख्वाई दिने पाकेको धान बालीमा पैनीबाट पानी लगाई दिनेसम्म गर्न थालेको पीडित उमाको भनाइ छ ।

बालकुमारी परिवारले अरू व्यक्तिलाई प्रयोग गरेर जग्गा बेच भन्न लगाउने गरेको उमाले बताइन । बालकुमारी दाहालले जग्गा बोकेर घरमा लैजा, कसरी बाली भित्र्याउँछस् हेरौला भन्ने गरेको उनले बताइन । यसै क्रममा २०८० मङ्सिर ७ गते खेतालाहरू लगाएर धान बाली उठाएर कुन्यू बनाएर साँझ घर फर्केकी थिइन उमा । कुन्यू लगाएकै दिनको राति १२ बजे धानको कुन्यूमा आगो लाग्यो भनेर फोन आयो । गाउँघरको बिचमा रहेको कुन्यूमा राति १२ बजे आगो लागेपछि छिमेकीहरूले बोलाएको ३ वटा दमकल आएर निभाउने प्रयास गरेका थिए । प्रकृति हेर्दा पेट्रोल छर्केर आगो लगाएको हुनसक्ने स्थानीयबासीको भनाइ छ ।

खेत नजिकै घर भएका धिरेन नेम्वाङ्गले फोन गरेर जानकारी गराएपछि हतार हतार खेतमा उमा पुग्दा साढे १२ बजेको थियो । पुरानै मुद्दा चलिरहेको विपक्षीहरूको घर र आगो लागेको कुन्यू नजिकै पर्दछ । आगो लागिबाट १३० (एक सय तीस मन) धान क्षति भएको छ । आगो निभाउन टाढा टाढाबाट आए पनि बालकुमारी दाहाल परिवारबाट कोही ननिस्केको उमाले बताइन् ।

उमाले इलाका प्रहरी कार्यालय बेलबारीमा ४१ बर्सिया बालकुमारी दाहाल, २५ वर्षीय छोरा लोकेन्द्र दाहाल विरुद्ध पुस ६ गते अपराधी उपद्रव सम्बन्धी किटानी जाहेरी दिँदै मुलुकी अपराध संहिता २०७४ को दफा २८५ (२, १) अनुसार तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न र क्षतिपूर्ति भराइ पाउँ भनेर उजुरी दिएका थिए । उजुरी दिएर पटक पटक इलाका प्रहरी कार्यालय धाउँदा पनि प्रहरीले विपक्षीहरूलाई तत्काल पक्राउ नगरेकोमा उमाले गुनासो गर्दै आएकी थिइन ।

छलफल भनेर बोलाउने र बालकुमारी, लोकेन्द्र पक्षधरको भिडभाडमा आफूलाई कमजोर बनाउने, मानसिक रूपमा हतोत्साहित बनाउने जस्ता काम हुन खोजेको उमाको भनाइ छ । ‘मलाई बाटो छेक्ने, कुटपिट गर्ने, जग्गा घरैमा लैजा भन्नु मिल्छ ?’ उमा भन्छिन् ‘एक्ली महिला भनेर मुद्दा कमजोर बनाउने, अनुसन्धान राम्रो नगर्ने गर्नु मिल्छ ?’ ‘घरबस्ति बिच नजिकै मेरो धानको कुन्यूमा आगो लगाइएको, तीन वटा दमकल आएर निभाउने प्रयास गरेको दुनियाँलाई थाहा छ । मैले उजुरी नै नगरे पनि आगो लगाउने व्यक्तिहरू खोजी गर्ने, पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने होला नि ? उमा भन्छिन् ‘अपराधी पत्ता लगाउने प्रहरी, जनप्रतिनिधिहरू, राजनीतिक पार्टीका नेता, कार्यकर्ताहरूको दायित्व होइन र ?’ ‘एक्ली महिला भनेर हेपेर म माथि बारबार अन्याय भइरहँदा म र म जस्ता पीडितहरूको लागि स्थानीय राजनीतिक दलका नेता÷कार्यकर्ताहरूले बोल्नु पर्दैन ?’ उमा प्रश्न गर्छिन् ।

उमा न्यायको लागि विभिन्न पार्टी तथा सङ्गठनहरूमा सहयोग माग्दै, खोज्दै हिँडेकी छन् । यसै क्रममा माघ ११ गते माओवादी केन्द्रको विराटनगरमा बसेको प्रदेश समितिको बैठकमा उमा राईलाई परेको अन्यायको बारे व्यापक छलफल भयो । त्यसपछि प्रदेश सभा पूर्व उपसभामुखसमेत रहेकी सरस्वती पोख्रेल, किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई लगायत इलाका प्रहरी कार्यालय बेलबारीमा चासो राखेपछि माघ १५ गते (उजुरी परेको करिब डेढ महिनापछि) किटानी जाहेरीमा परेका बालकुमारी र लोकेन्द्र दाहाललाई पक्राउ गरेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर तेज दाहालले दुवै जनालाई मङ्गलवार म्याद थप्न पठाएको बताए । पक्राउ परेपछि उमाले राम्रो अनुसन्धान हुने, पीडकलाई हदैसम्मको कारबाही, क्षतिपूर्ति भराइ पउनेमा आशा जागेको बताएकी छन् । अघिल्लो जाहेरीमा भने जिल्ला अदालत मोरङले ज्यानमार्ने उद्योगको मुद्दा कुटपिटमा परिनत गरिदिएपछि उमाले उच्च अदालतमा पुनरावेदन गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्