पूर्व डीआईजी महेशविक्रम शाहसहित चारजना भ्रष्टाचार मुद्दामा दोषी ठहर


काठमाडौं । सिन्धुलीको दुधौली तालिम केन्द्रका तत्कालीन समादेशक नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहसहित चार जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले मदन पुरस्कार विजेता समेत रहेका पूर्व डीआइजी महेशविक्रमसहित मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्रप्रसाद पनेरुलाई पनि दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको पुस ११ गते, बुधवारको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो । दोषी ठहर भए पनि उनीहरूको हकमा सजाय निर्धारण गर्न भने बाँकी छ ।

जवानको तलब भत्ता हिनामिनामा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक रहका पूर्व डीआईजी शाहसहित तत्कालीन लेखापाल पनेरु, लेखा सहायक हवल्दार केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव विशंखेविरुद्ध २०७६ फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा २०७२ वैशाख २७ मा प्रहरी जवानमा भर्ना भई २०७२ पुस २२ मा तालिम सकिएका व्यक्तिहरूलाई प्रहरी प्रधान कार्यालयले माघ ११ मा तलब भत्ता सरुवा भएको ठाउँबाट पाउने गरी सरुवा गरेको थियो । तर तत्कालीन समादेशक शाह, लेखापाल पनेरु र लेखा सहायकको मिलेमतोमा जवानहरूको २०७२ माघ र फागुनको तलब भत्ता समेत खर्च लेखी निकालेर आफैँले चलाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

त्यस्तै मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आर्थिक वर्ष २०७२/०७३ मा कार्यालय प्रमुखको रूपमा कार्यरत महेशविक्रम शाह, लेखापाल पनेरु तथा लेखा सहायक हवल्दार केशव सिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०७२ माघ ११ गतेको पत्रले माघ महिनाको तलब-भत्ता खान पाउने गरी सरुवा भएका १०३ प्रहरी जवानको माघ र फागुन महिनाको तलब भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ निकालेर खाई भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

०७२ माघ ३ गतेदेखि १४२ जना जवान भर्ना भएका थि ए। तर शाहकै डिजाइनमा माघ १ गतेबाटै गणना गरेर २ दिनको तलब एक लाख ४९ हजार ६ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको थियो । शाहसहितले जम्मा ३३ लाख ३८ हजार ८४ रुपैयाँ भ्रष्टाचार गरिएको अख्तियारले दाबी गरेको थियो। शाहकै नेतृत्वमा तलबभत्ता तलबी भर्पाइमा कृते दस्तखत गरी बदनियत साथ हिनामिना गरी बाँडिचुँडी खाएको दाबी अख्तियारको अभियोगपत्रमा गरिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका शाह लेखक समेत हुन् । शाहले २०६३ सालमा प्रकाशित आफ्नो कथा संग्रह ‘छापामारको छोरो’ का लागि मदन पुरस्कार प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्