इजरायल आक्रमणमा १० जना नेपालीको ज्यान गएको पुष्टि : तीन जना घाइते (विवरणसहित)


काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले शनिवार इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएन) इजरायलका अध्यक्ष कृष्ण भण्डारीले दिएको जानकारीअनुसार, हमासको आक्रमणमा मृत्यु हुनेमा कैलाली घोडाघोडी– ४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया– ३ का आशीष चौधरी, दार्चुला लेकमा– ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन– ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपाली, धनुषा सपाही– ६ का आनन्द साह, सुनसरी मधुवन– १ का राजेशकुमार स्वर्णकार, डोटी पचनली– ३ का राजन फुलारा, डोटीकै लमिखाल ८ का पदम र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् ।

अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा– २ का विधान सेजवाल, दाङ दङ्गिशरण–३ का प्रवीण डाँगी, कैलाली टीकापुर– ९ का धनबहादुर चौधरी, गोरखा– ८ गोर्खाका हिमान्चल कट्टेल र कञ्चनपुर भीमदत्त– ३ का विपिन जोशी छन् ।

सल्यान त्रिवेणी– १ का प्रमोद केसी बोस कस्टडी (रोजगारदाता किसानको संरक्षणमा) र कैलाली भजनी त्रिशक्ति– ४ का वीरेन्द्र चौधरी प्रहरी कस्डडीमा सुरक्षित छन् । १७ जना नेपाली विद्यार्थी रहेको सेदोत नेगेभमा हमासको आक्रमणपछि हिजो १७ मध्ये १२ नेपाली विद्यार्थी सम्पर्कविहीन थिए । तीमध्ये १० जनाको मृत्यु भएको अध्यक्ष भण्डारीले बताए । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल भनिन्, ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्था मिलाइरहेका छौँ । बाँकी घाइते र बंकरमा सुरक्षितहरूलाई पनि चाँडोभन्दा चाँडो उद्धार गर्न प्रयासरत छौँ ।’

प्रतिक्रिया दिनुहोस्