कोशी प्रदेशको आगामी आर्थिक वर्षको कुल बजेट ३६ अर्ब २४ करोड ३५ लाख


मोरङ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कुल बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै अध्यादेशमार्फत ल्याएको बजेट सार्वजनिक गरेका हुन् । जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको उनले बजेट भाषणमार्फत जानकारी गराएका छन् ।

यसलाई खर्च व्यवस्था गर्ने स्रोतमा राजस्वतर्फ ४ अरेब ५७ करोड ७८ लाख ५० हजार संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड र बाँकी अपुग रकममा बचतबाट ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार जुटाउने उल्लेख छ ।

बजेटमा कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रममा लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र समानुपातिक पद्धतिबाट निर्वाचित प्रदेशसभा सदस्यले १ करोड रुपैयाँको योजना छनोट गर्न पाउने छन् । प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी योजनाका लागि चार करोड रुपैयाँ विनियोजन गरेको छ । भूमिगत पानी उत्पादन र वितरण सुधारका लागि चार करोड विनियोजन गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्