विद्यार्थीहरूले पि.यु अस्पतालको प्रशासनमा लगाए ताला : उपचारको सट्टा अभद्र व्यवहार


मोरङ । मोरङको सुन्दरहरैँचमा रहेको पूर्वाञ्चल विश्वविद्यालय अस्पतालको प्रशासन भवनमा विद्यार्थीहरूले ताला लगाएका छन् । पूर्वाञ्चल विश्व विद्यालयमा स्नातक तहको वातावरण तथा बन विज्ञान सङ्कायमा अध्ययनरत एक विद्यार्थीलाई डाक्टर र नर्सले उपचार गर्न नमान्दा ताला लगाएका हुन ।

पूर्वाञ्चल विश्व विद्यालय परिसर भित्र रहेको खेलमैदानमा फुटबल खेल्ने क्रममा अनिसा चौधरी मुर्छा पर्दा डा. कृष्ण माझी र रिङ्कु झाले उपचार गर्न अस्वीकार गरेकोले अस्पताल विरुद्ध तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीहरूले जनाएका छन् । नर्स झाले उपचारको लागि आग्रह गर्दा अभद्र व्यवहार गरेको विद्यार्थीहरूको गुनासो रहेको छ ।

ताला लगाएसँगै विद्यार्थीहरूले सङ्घर्ष समिति बनाएका छन् । सङ्घर्ष समितिले विज्ञप्ति मार्फत घटना बारे जनकारी गराउँदै ध्यानाकर्षण गराएको छ । फुटबल खेल्ने क्रममा आकस्मिक चौधरी मुर्छा भए पछि आग्रह गर्दा पनि एम्बुलेन्स र स्ट्रेचर नदिएको विद्यार्थीहरू बताउँछन् । स्ट्रेचर दिने जिम्मेवारी नभएको बताउँदै, सेवा चाहिए उपकुलपतिकोमा जानु अजिम्मेवारी जवाफ नर्स र डाक्टरले दिएको विज्ञप्तिमा उल्लेख छ । बिरामीलाई अस्पतालसम्म ल्याउँदा पनि डाक्टर भागेको विज्ञप्तिमा उल्लेख छ ।

एक विद्यार्थीका अनुसार सयौँ विद्यार्थी अस्पताल विरुद्ध ओर्लिए पछि मात्र बिरामी साथीको उपचार गरेको बताउँछन् । नर्सले उपचार गर्नको सट्टा उल्टै आक्रोश र अजिम्मेवारी जवाफ दिएको देख्दा भने दुख लागेको उक्त विद्यार्थीले बताए । नाम नखुलाउने सर्तमा उनले भने, ‘जीवन र मरणमा साथी मुर्छा अवस्थामा पर्दा पनि नर्सको अश्वभाविक व्यवहारलाई डा. कृष्ण माझीले नबुझी समर्थन गर्नु गलत हो । आफू पढ्ने विद्यालयमा अस्पताल छ तर उपचार गर्न पाउँदिनौ । यो विडम्बना हो ।’

डा. माझीले खेल मैदानमा उपचार गर्न नगएको स्वीकार गरेका छन् । अस्पतालको इमरजेन्सीमा हुँदा प्रशासनको अनुमति बिना बाहिर जान नपाउने भएकोले नगएको डा. माझी बताउँछन् । उनले भने, ‘हामीलाई खेलमा मेडिकल टिम जानु पर्ने भनेर प्रशासनले केही बताएको छैन । अनुमति बिना इमरजेन्सीबाट जान मिल्दैन ।’
डा. माझीका अनुसार बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कमजोरीको कारण अनिसा मुर्छा भएको डा. माझीले बताए । डा. माझीले भने, ‘भलिबल, क्रिकेट र फुटबल सबै खेलेको कारण अनिसा गुल्कोचको कमीले बेहोस भएकी हुन ।’

विद्यार्थीहरूको सङ्घर्ष समितिले २४ घण्टा इमरजेन्सी सेवा उपलब्ध गराउन माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्