जनता मावि नक्सलको उत्प्रेरणा जागरण अभियान २०७८ समापन


बेलबारी, १ चैत । बेलबारी १ मा रहेको जनता मावि नक्सलबारीले एक कार्यक्रमबिच गुणात्मक शिक्षाका लागि एन एल पी, मस्तिष्क क्षमता विकास तथा उत्प्रेरणा अभियानको समापन गरेको छ । फागुन २५ गतेबाट सुरु भएको अभियानको आज (मङ्गलवार) एक कार्यक्रमकाबिच समापन गरिएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथि रहेको समापन कार्यक्रममा बेलबारी नगरपालिका वडा नं १ का अध्यक्ष चक्रबहादुर खुलाल, युवा वैज्ञानिक तथा उत्प्रेरक कपिल पौडेल, एन एल पी एक्सपर्ट एवम् उत्प्रेरक छवि अधिकारी, आदर्श सेकेन्डरी स्कुलका प्रिन्सिपल झमक कट्टेल, भानु मेमोरियल शैक्षिक गुठीका प्रिन्सिपल केपी दुलाल, अर्किड बेलबारीका कार्यक्रम संयोजक रेवती तिवारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि ज्ञानेन्द्र सुवेदीले सात दिने अभियानको समापन समारोहलाई संवोधन गर्दै अभ्यासकै क्रममा रहेकोले धेरै काम गर्न नसकेको स्वीकार गर्दै पछिल्लो समय आफूहरू नगरको शैक्षिक गुणस्तर सुधारमा लागिरहेकोले बताए ।
शिक्षा र स्वास्थ्यका क्षेत्रमा केही असहजता रहेको स्वीकार गर्दै नगरप्रमुख सुवेदीले भने ‘शिक्षा स्वास्थ्यका क्षेत्रमा केही असहजता छ । त्यसलाई सुधार गर्दै लैजानु पर्छ । र हामी त्यसतर्फ लागिरहेका छौँ ।’

नगरप्रमुख सुवेदीले महामारीका रूपमा आएको कोभिडले काम गर्न केही कठिन रहे पनि यो सहज हुँदै आएकाले अव विकासले गति लिने बताए । एक्सपर्टबाट आएका सुझाव र सल्लाह उचित भएको बताउँदै त्यसको कार्यान्वयनमा आफूहरू लाग्ने प्रतिवद्धतासमेत जाएर गरे ।

युवा वैज्ञानिक तथा उत्प्रेरक व्यक्तित्व कपिल पौडेलले अहिलेको शिक्षा काम नलाग्ने भएको बताउँदै व्यवहारमुखी शिक्षाको खाँचो रहेको बताए । आफ्नै लगानीमा लोडसेडिङरहित ट्रान्स मिटर बनाएर सरकारलाई काम गर्न अनुमति माग्दासमेत नपाएर बिदेसिनु परेको गुनासो व्यक्त गर्दै अहिले सम्मको राज्यसत्ताले शिक्षामा परिवर्तन गर्न नचाएको आरोप लगाए । राज्य संयन्त्रलाई नपुंसकको संज्ञा दिँदै व्यवहारमुखी शिक्षा नआएसम्म देश जहाकातही रहने पनि उनको ठोकुवा रहेको छ ।

अर्का उत्प्रेरक तथा एन एल पी एक्सपर्ट छवि अधिकारीले गर्न नसकिने केही नरहेको बिचार व्यक्त गर्दै एन एल पी माध्यमबाट मानिसमा रहेका निरासा, कुण्ठा तथा आलस्यता आदिलाई हटाएर उनीहरूमा आसा र भरोसाको दियो बाल्न सकिने बताए । काउन्सिलिङको माध्यमबाट बालबालिकालाई सही मार्गमा डोर्‍याउन, उनीहरूमा भएको निरासा र कुण्ठालाई समन गर्न सकिने बताउँछन् ।

तालिममा बालबालिका, शिक्षक तथा अभिभावकहरूको समेत सहभागिता रहेको थियो । तालिम निकै प्रभावकारी रहेको आयोजक विद्यालय जनता माविका प्रधानाध्यापक शम्भु खनाल बताउँछन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन भने सहायक प्रधानाध्यापक टेकराज एक्चाई मगरको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्