१०३ घर परिवारका लागि एउटा धारो, पानी थाप्ने बेला जहिल्यै झगडा


म्याग्दी, २९ असोज । देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँवासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ ।

जिल्लाको बेनी नगरपालिका–५ स्थित सो गाउँमा १०३ दलित परिवारको बसोबास छ । ती परिवारका चार सय भन्दा बढी सदस्यले गाउँका बिचमा रहेको एउटा मात्र धारोबाट गुजारा चलाउँदै आएको वर्षौँ बितिसकेको छ । सो गाउँमा दलितको मात्रै बस्ती रहेको छ । सो गाउँमा बिहान उठेदेखि रातिसम्म पानीको मात्रै चिन्ता हुने गरेको बताइएको छ ।

अन्य समयमा भन्दा बिहानको समयमा यहाँका गृहिणीहरूलाई सास्ती हुने गरेको ६८ वर्षिया कालिका दर्जीले गुनासो गरिन् । ‘बिहान ४ बजेदेखि नै यहाँ भीड लाग्छ,’ बुधवार दिउँसो धारामा पानी भर्न आएकी उनले भनिन्, ‘११ वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ, त्यति बेलादेखि नै खानेपानीको समस्या जस्ताको यस्तै छ ।’

उनको जस्तै समस्या यस गाउँका सबै गृहिणीले भोग्दै आएका छन् । एक गाग्री पानी भर्नको लागि एक घण्टा नै लाइनमा बस्नु पर्ने बाध्यता भएको स्थानीय महिला पार्वती दर्जीले गुनासो गरिन् । ‘घरको अरू काम गर्नै भ्याइँदैन, बिहान धारामै बित्छ, काममा जाने लोग्ने मान्छे र विद्यालय जाने केटाकेटीहरूलाई खाना पकाएर खुवाउन ढिला हुन्छ,अनि गाली आफूले खानुपर्छ,’ उनले भनिन्, ‘अरू गाउँका घरघरमा धारा छन्, हाम्रो गाउँमा गाउँभरिकै मान्छेका लागि जम्मा एउटा धारो छ ।’

यस गाउँमा पानीकै कारण झगडा समेत हुने गरेको पुलाचौरका बुद्धिजीवी शिव बानियाँले जानकारी दिए । ‘एउटा मात्रै धारो,१०३ घर परिवार, पानी भर्नका लागि तँछाडमछाड त हुने नै भयो, अनि सुरु हुन्छ झगडा, मेरो पालो भन्दै एक जना अघि बढे पछि अर्को पछि हट्ने कुरै भएन, सबैलाई छिटो पानी भरेर घरको काम सक्ने हतारो हुन्छ । यहाँ पानीकै कारण दैनिक झगडा समेत हुने गरेको छ,’ उनले भने ।

बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरूबाट खुब मीठा मीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा यामबहादुर दर्जीले बताए ।

‘हामी जहिल्यै पनि राजनीतिक दलहरूका लागि भोट बैङ्कको रूपमा प्रयोग भयौँ, दलित भएकै कारण सबै राजनीतिक दलहरूबाट हेपिँदै आएका छौँ, अहिलेसम्म चुनावको बेला आश्वासन बाहेक अरू केही पाउन सकेनौँ,’ उनले भने, ‘चुनाव सकियो भने यो गाउँमा नेताहरूले नाक मुखै देखाउँदैनन् ।’

जिल्लास्थित राजनीतिक दलहरूले मात्रै होइन स्थानीय तहका जनप्रतिनिधिहरूले समेत यस गाउँलाई बेवास्ता गर्ने गरेको उनीहरूको आरोप रहेको छ । ‘हाम्रो भोटले नै जितेर गएका जनप्रतिनिधिले चुनावको बेला बाहेक अरू समयमा हामीलाई फर्केर पनि हेर्दैनन्, खानेपानी र मोटर बाटोको मर्मतका लागि कति पटक यहाँका जनप्रतिनिधिलाई भन्यौँ तर सुनेको नसुन्यै गरे,’ स्थानीय लालबहादुर परियारले भने ।

बेनी नगरपालिकाले खानेपानी समस्या समाधान गर्न उच्च प्राथमिकता दिएको जनाएको छ । वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मण बानियाँले भने, ‘पुरण्यमा खानेपानीको समस्या छ, तर खानेपानीको स्रोतका अभावमा त्यो समस्यालाई सम्बोधन गर्न सकिएको छैन उहाँहरूलाई बेवास्ता गरेको भन्ने कुरै आउँदैन, श्रोतको खोजी भइरहेको छ, केही समय पछि उहाँको समस्या समाधानका लागि प्रयास सुरु हुने छ ।’  (-ध्रुव सागर शर्मा, रासस)

प्रतिक्रिया दिनुहोस्