नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुले आज शपथ लिने


काठमाडौं, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल आंशिक हेरफेर गरी खाली ३ मन्त्रालयका नेतृत्व परिपूर्ति गर्नुका साथै केही मन्त्रीका जिम्मेवारी फेरबदल गरिएका छन् ।

नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुको शपथ कार्यक्रम आज (बिहीबार) बिहान साढे ११ बजेका लागि तय भएको छ । नव नियुक्त तीन मन्त्रीले बिहीबार शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको हो ।

नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आएका छन् । यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।

यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएको छ । शहरी विकासमा भने कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ ।

यता पार्टी प्रणालीमा परामर्श नगरी निर्णय लिएको भन्दै यससँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल असन्तुष्ट देखिएका छन् ।

बुधबारको छलफलमा पनि प्रधानमन्त्री ओलीले आफूले रिक्त तीन मन्त्रालयमा मात्र नियुक्त गरेर जान लागेको जानकारी गराएका थिए । दाहालले भने रिक्त मन्त्रालयको नियुक्तिका विषयमा सहमति जनाएका थिएनन्। वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायतले त अझ बुधबारै नयाँ मन्त्री नियुक्त हुँदै छन् भन्ने सुइँकोसम्म पाएका थिएनन् ।

‘प्रधानमन्त्रीले अहिले गर्नु भएको मन्त्रिमण्डल सहमतिमा होइन, उहाँले आफ्नो तर्फबाट एकलौटी निर्णय लिनुभएको हो । उहाँले रिक्तमा मात्र नियुक्ति गर्दै छु भन्दै आउनुभएको रहेछ । प्रचण्डले अहिले त्यसो नगर्नुस् भनिरहनु भएको थियो । तर, प्रधानमन्त्रीले नेताहरूको कुरा सुन्नु भएन । एकलौटी निर्णय लिनुभयो’, नेकपाका एक सचिवालय सदस्यले भने, ‘प्रधानमन्त्री मिलेर जानेतिर देखिनुु हुन्न । स्थायी समिति बैठकको स्पिरिटका आधारमा गर्नुपर्ने थियो, भएन । यो सहमतिका आधारमा भएको होइन ।’

प्रतिक्रिया दिनुहोस्