विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ इक्राही नहरस्थित धानखेतमा सालनालसहितको नवजात शिशु फेला परेको छ । सेतो प्लास्टिकको बोराभित्र राखिएको अवस्थामा भेटिएको नवजात शिशु स्थानीयले रोएको आवाज सुनेपछि समयमै उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १३ गते बिहान करिब ९ः४० बजे स्थानीयले धानखेतमा शिशु रोइरहेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बरगाछीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा शिशुको उद्धार गरी तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचाररत शिशुको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र शिशु स्वस्थ देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उद्धार गरिएको शिशु नवजात छोरा हुन् । जन्मिएको केही समयमै सालनालसहित प्लास्टिकको बोरामा राखेर धानखेतमा छाडिएको हुनसक्ने देखिए पनि उनलाई त्यहाँ कसले र किन छाडेको भन्ने विषयमा भने अहिलेसम्म यकिन भएको छैन ।
घटनाको वास्तविकता पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय मोरङबाट घटनास्थल अनुसन्धान तथा वैज्ञानिक प्रमाण संकलनमा खटिने प्रहरी टोलीसहित थप प्रहरी परिचालन गरिएको छ । घटनास्थलबाट आवश्यक प्रमाण संकलन गर्ने तथा शिशुलाई त्यहाँ पुर्याउने व्यक्तिको पहिचान गर्ने दिशामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
धानखेतमा छाडिएको अवस्थामा रहेको शिशु स्थानीयले समयमै देख्न र प्रहरीलाई खबर गर्न नसकेको भए अवस्था गम्भीर हुनसक्ने थियो । तर, शिशु रोएको आवाज सुनेर स्थानीयले तत्काल चासो देखाएपछि प्रहरी घटनास्थल पुग्न सकेको र उपचारका लागि अस्पताल पुर्याउन सम्भव भएको हो ।


