उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका-६ लालमारीस्थित मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान घरेलु भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ ।
प्रहरीका अनुसार वन क्षेत्रमा चोरी-शिकार हुने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली परिचालन गरिएको थियो । आइतबार साँझ करिब ६ः३० बजे वन क्षेत्रमा गस्ती गर्ने क्रममा झाडीभित्र शंकास्पद अवस्थामा एउटा बोरा फेला परेको थियो । बोरा खोलेर जाँच गर्दा त्यसमा लुकाइछिपाइ राखिएका तीन थान घरेलु भरुवा बन्दुक फेला परेका हुन् ।
प्रहरीले बन्दुकसँगै एउटा फलामको नाल, १९ ग्राम २४० मिलिग्राम बारुद, ९८ वटा फलामका बेरिङ तथा १३ वटा फलामका टुक्रासमेत बरामद गरेको जनाएको छ । बरामद सबै सामग्री नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ ।
वन क्षेत्रमा चोरी-शिकारका लागि बन्दुक तथा त्यसमा प्रयोग हुने सामग्री लुकाएर राखिएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ । यद्यपि, ती हतियार कसले र कुन उद्देश्यले वनमा लुकाएर राखेको हो भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । घटनामा संलग्न व्यक्तिको पहिचान तथा घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
पछिल्लो समय कोशी प्रदेशका विभिन्न वन क्षेत्रमा अवैध शिकार नियन्त्रणका लागि प्रहरीले निगरानी बढाउँदै आएको छ । नेपाल प्रहरीले पनि विभिन्न जिल्लाबाट भरुवा बन्दुक बरामद तथा यस्ता हतियार प्रयोग गर्ने व्यक्तिमाथि अनुसन्धान भइरहेको विवरण सार्वजनिक गर्दै आएको छ ।


