भोटेकोशी बाढीपीडितका लागि मोरङका निजी विद्यालयले जुटाए करिब ७५ लाख राहत


विराटनगर । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मोरङका निजी तथा आवासीय विद्यालयहरूले करिब ७५ लाख रुपैयाँ राहत रकम संकलन गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको समन्वयमा जिल्लाका विभिन्न पालिकामा रहेका सदस्य विद्यालयहरूले सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सहयोगी मनहरूबाट उक्त रकम संकलन गरेका हुन् ।

प्याब्सन केन्द्रीय कार्यसमितिबाट जारी गरिएको परिपत्रअनुसार बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले राहत रकम संकलन अभियान सञ्चालन गरिएको प्याब्सन मोरङले जनाएको छ ।

प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतका अनुसार जिल्लाका विभिन्न पालिकामा रहेका सदस्य विद्यालयहरूबाट संकलित ७४ लाख ९५ हजार ७ सय ५१ रुपैयाँ एकमुष्ट रूपमा प्याब्सन केन्द्रीय राहत कोषमार्फत पठाइएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्रयोग गरिने जनाइएको छ ।

मोरङका विद्यालयहरूले संकलन गरेको रकममध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिकाका विद्यालयबाट संकलन भएको छ । विराटनगरका ३३ वटा विद्यालयले २३ लाख १३ हजार ५ सय २७ रुपैयाँ संकलन गरेका छन् । त्यसै गरी सुन्दरहरैँचा नगरपालिकाका २५ वटा विद्यालयले १५ लाख ७० हजार ३ सय १९ रुपैयाँ सहयोग गरेका छन् ।

बेलबारी नगरपालिकाका २० वटा विद्यालयले ९ लाख ६८ हजार ३ सय ७२ रुपैयाँ संकलन गरेका छन् । पथरी शनिश्चरे नगरपालिकाका २३ वटा विद्यालयबाट ६ लाख ९० हजार ७ सय ५१ रुपैयाँ संकलन भएको छ भने उर्लाबारी नगरपालिकाका १६ वटा विद्यालयले ३ लाख ८३ हजार ३ सय १७ रुपैयाँ सहयोग गरेका छन् ।

रंगेली नगरपालिकाका ११ वटा विद्यालयले ४ लाख ८३ हजार ६ सय ३ रुपैयाँ, लेटाङ नगरपालिकाका १२ वटा विद्यालयले २ लाख ६९ हजार १३ रुपैयाँ, रतुवामाई नगरपालिकाका १९ वटा विद्यालयले २ लाख ४६ हजार ४ सय ७७ रुपैयाँ तथा केराबारी गाउँपालिकाका ६ वटा विद्यालयले २ लाख ४१ हजार ५४ रुपैयाँ संकलन गरेका छन् ।

यसै गरी मिक्लाजुङ गाउँपालिकाका १० वटा विद्यालयबाट १ लाख ७९ हजार ३३ रुपैयाँ, सुनवर्षी नगरपालिकाका एक विद्यालयबाट ६२ हजार ९ सय २५ रुपैयाँ, कानेपोखरी गाउँपालिकाको एक विद्यालयबाट २५ हजार रुपैयाँ, धनपालथान गाउँपालिकाको एक विद्यालयबाट २५ हजार २५ रुपैयाँ, कटहरी गाउँपालिकाका दुई विद्यालयबाट २७ हजार २ सय ३५ रुपैयाँ र ग्रामथान गाउँपालिकाको एक विद्यालयबाट १० हजार १ सय रुपैयाँ संकलन भएको प्याब्सन मोरङले जनाएको छ ।

राहत संकलन अभियानमा विद्यालयको तहदेखि विद्यार्थी र अभिभावकसम्मको सहभागिता रहेको थियो । विद्यालयहरूले आफ्नो क्षमताअनुसार रकम संकलन गर्दै विपद्का बेला मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रयास गरेका हुन् ।

विराटनगरका विद्यालयहरूबाट मात्रै २३ लाखभन्दा बढी रकम संकलन भएको छ । विराटनगरस्थित विभिन्न विद्यालयमध्ये एभरेस्ट माध्यमिक विद्यालय, बुद्धनीलकण्ठ माध्यमिक विद्यालय, डिएभी विद्यालय, डिपिएस विद्यालय, मोडर्न एरा माध्यमिक विद्यालय, टडलर्स हेभन विद्यालय, कान्तिपुर माध्यमिक विद्यालय, ग्रेडेड माध्यमिक विद्यालय, गोदावरी माध्यमिक विद्यालय, एडेन् नेसनल विद्यालय, बाल्मीकि माध्यमिक विद्यालयलगायतका विद्यालयले राहत रकम उपलब्ध गराएका छन् ।

सुन्दरहरैँचाका विद्यालयहरूबाट पनि उल्लेख्य सहयोग जुटेको छ । सिद्धार्थ माध्यमिक विद्यालय, ब्राइट फ्युचर माध्यमिक विद्यालय, पूर्वाञ्चल एकेडेमी, ज्युपिटर माध्यमिक विद्यालय, लभ्ली एन्जल्स विद्यालय, सुजिमुर मेमोरियल विद्यालय, ज्ञानज्योति माध्यमिक विद्यालय, कान्तिपुर माध्यमिक विद्यालय, लिटल पाथिभरा विद्यालय, टेन्डरफिट बोर्डिङ विद्यालयलगायतका विद्यालयले अभियानमा योगदान गरेका छन् ।

बेलबारीका आदर्श माध्यमिक विद्यालयले २ लाख १५ हजार ५ सय ५३ रुपैयाँ, माउन्ट एभरेस्ट माध्यमिक विद्यालयले १ लाख ४२ हजार १ सय ९४ रुपैयाँलगायत विभिन्न विद्यालयले सहयोग गरेका छन् । बेलबारीका विद्यालयबाट मात्रै ९ लाख ६८ हजारभन्दा बढी रकम संकलन भएको छ ।

पथरी शनिश्चरेका एभरेस्ट विद्यालय, मोरङ मेरिगोल्ड विद्यालय, भूपू सैनिक विद्यालय, न्यु पोगोडा माध्यमिक विद्यालय, प्याराडाइज माध्यमिक विद्यालय, सुपर्ब मोडल विद्यालय, अरुणोदय विद्यालय, हसन्दह डनबस्को विद्यालय, बाल जागरण विद्यालय, किरात एकेडेमी विद्यालय, ग्रेटग्रेस विद्यालयलगायतका विद्यालयले राहत रकम उपलब्ध गराएका छन् ।

रतुवामाईका मुनाल आदर्श माध्यमिक विद्यालय, राष्ट्र निर्माण विद्यालय, मुनलाइट माध्यमिक विद्यालय, अन्नपूर्ण विद्यालय, पृथ्वी तारा विद्यालय, माउन्ट एभरेस्ट माध्यमिक विद्यालय, राइजिङ नेपाल विद्यालयलगायतका विद्यालयले पनि बाढीपीडितका लागि सहयोग गरेका छन् ।

लेटाङका लेटाङ ग्रिन भ्याली, मोरङ पाथिभरा विद्यालय, नोबेल एजुकेसन एन्ड डेभलपमेन्ट फाउन्डेसन, लिटल फ्लावर्स विद्यालय, जन्ते नमुना विद्यालय, युनाइटेड मिनर्भा एन ग्यालेक्सी, गुराँस इङ्लिस विद्यालय, टेन्डर बड्स विद्यालयलगायतका विद्यालयबाट राहत रकम संकलन भएको छ ।

मिक्लाजुङका सरस्वती विद्यालय, रिलायन्स माध्यमिक विद्यालय, निर्मल सिद्धार्थ विद्यालय, भानु मेमोरियल विद्यालय, मदर विद्यालय, क्लासिकल विद्यालय, भिन्ची इङ्लिस विद्यालय, ग्रिनल्यान्ड विद्यालय, नोबेल्टी विद्यालय र तोरीबारी विद्या मन्दिर विद्यालयलगायतले समेत अभियानमा सहभागिता जनाएका छन् ।

प्याब्सन मोरङले विद्यालय समुदायबाट संकलन भएको सम्पूर्ण रकम एकमुष्ट रूपमा केन्द्रीय राहत कोषमा पठाइएको जनाएको छ । विपद्का बेला विद्यालय केवल पठनपाठनको केन्द्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने महत्त्वपूर्ण संस्था पनि भएको सन्देश प्याब्सन मोरङले दिएको छ । प्याब्सन मोरङले विपद्को घडीमा सहयोग गर्ने सम्पूर्ण विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सहयोगी मनहरूप्रति आभारसमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्