कोरोना रोकथाममा लेटाङको रु.९४ लाख खर्च : प्रदेश सरकारद्वारा प्राप्त रकम अपर्याप्त


खनेन्द्र कुमार राई (अर्जुन) – मोरङ, १५ असोज। देशभरका सबै स्थानीय तह कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा सक्रिय रहेको छ ।
यस विषम परिस्थितिमा देशभरका सबै स्थानीय तहसँगै प्रदेश १ को मोरङ स्थित लेटाङ नगरपालिकाले पनि कोरोना रोकथाम नियन्त्रण, राहत वितरण तथा क्वारेनटाइन व्यवस्थापनका विशेष कार्यक्रम सञ्चालन गरी रहेको छ । यती बेला प्रदेश सरकारबाट कोरोना रोकथाम तथा नियन्त्रणमा प्राप्त भएको रकम पर्याप्त नहुँदा स्थानीय जनताको सहयोगमा स्थानीय तहले काम गर्नुपर्ने बाध्यता रहेको छ ।

नगर प्रमुख शंकर राई भन्छन्, “रोकथाम नियन्त्रण, राहत वितरण तथा क्वारेनटाइन व्यवस्थापनमा प्रदेश सरकारद्वारा प्राप्त रकम पर्याप्त छैन ।” लेटाङ नगरपालिकाले प्रदेश सरकारबाट प्राप्त गरेको रु.१० लाख रकमसँगै राहत कोषको स्थापना गरी स्थानीय संघसंस्था तथा व्यक्तिद्वारा रु.१८ लाख ४५ हजार भन्दा बढी रकम संकलन गरेको छ । सांसद, नगरका जनप्रतिनिधि, नगरका कर्मचारी समेतले जिम्मेवारीको प्राथमिकतामा आर्थिक सहयोग गरेको प्रमुख राईले बताए । देशका विभिन्न जिल्ला तथा वैदेशिक रोजगारबाट फर्केकाहरूलाई क्वारेनटाइनमा व्यवस्थापन गर्न सुरुवातमा निकै जटिल बनेको अनुभव प्रमुख राईको रहेको छ ।

यस बेला लेटाङमा लेटाङ क्याम्पस एक मात्र क्वारेन्टानको विकल्प बनेको छ । वाड नं. २ मा रहेको १०० बेड क्षमता भएको क्वारेनटाइनको उत्कृष्ट व्यवस्थापनले कोरोना रोकथाम तथा नियन्त्रणमा निकै सहज बनाएको लेटाङ स्वास्थ्य शाखाका प्रमुख महेन्द्र चौधरीले बताए । अहिले सम्म लेटाङमा रोकथाम नियन्त्रण, राहत वितरण तथा क्वारेनटाइन व्यवस्थापनको लागि रु.९४ लाख ५० हजार ७४ खर्च भइसकेको लेखा अधिकृत सुशील बास्तोलाले जनाएका छन् । वडा नं. २ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा नगरपालिकाले आइसोलेसनको तयारी सुरु गरेको छ । वडा नं. २ का अध्यक्ष तेजप्रकाश तिम्सिनाका अनुसार रु.७० हजारको खर्चमा १० बेड क्षमताको आइसोलेसन तयार भएको छ।

औषधीको अभाव हुन नदिन ठेक्का प्रक्रियाको ढिलो विधिको कारण रु.५ लाख भन्दा सानो रकममा नगरपालिकाले नै औषधी खरिद गर्ने गरेको नगर प्रमुख राईले जनाएका छन् । लेटाङ नगरपालिकाको वाड नं. १ मा करिब १ करोड २० लाख बरबरको स्वास्थ्य चौकी निर्माणसँगै वडा नं. ७ स्थित वारङ्गीमा ७० लाख बराबरको स्वास्थ्य चौकी निर्माण गर्ने योजना रहेको छ भने वाड न. ९ स्थित जातेमा रहेको स्वास्थ्य चौकीमा थप संरचना निर्माण गर्ने योजना रहेको नगर प्रमुख राईले बताएका छन् । राईका अनुसार लेटाङको ९ वटा वडामा नै स्वास्थ्य चौकी चाडै तयार हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्