क्यान्सर पीडित कलाकार भन्छन् ,“मलाई बचाइदिनु होस”


बेलबारी, ४ असोज / लामो समयसम्म वाद्यवादनको मधुर ध्वनि दिएर समाजमा ठुलो सहयोग पुर्‍याउँदै ठुलो धनराशि समेत संकलन गरेर ठाउँ ठाउँमा विद्यालय, क्याम्पस, मठमन्दिरका भवन बनाउन तथा अक्षयकोषको स्थापनामा मुख्य भूमिका निभाउने बेलबारीका क्यान्सर पीडित कलाकार अहिले आफ्नै जीवन रक्षाका लागि सहयोगको याचना गरिरहेका छन् ।

बेलबारी नगरपालिका वडा नम्बर –९ तिन खुटिया टोलका फुपा नामले चिनिने राघभ राजवंशी यति वेला रोगका कारण थला परेका छन् । बाहिर भित्र गर्न समेत उनले परिवारको सहायता लिनु परेको छ । यतिधृरै सामाजिक काममा सहयोग पुर्‍याउने तर अहिले रोगले थला परेर उपचार समेत गर्न नसक्ने अवस्थामा पुगेपछि उनी आफन्त तथा शुभचिन्तकहरुसँग आफ्नो उपचारका लागि आर्थिक सहयोग आशामा बसिरहेका छन् ।

राघभले विगत २० वर्ष देखि एकाह तथा सप्ताह पुराणमा ढोलक, मादल, तबला बजाएर भजन गाउने क्रममा देश र समाजका लागि ठुलो योगदान दिएका छन् । उनको मधुर स्वरका कारण उठेको रकमबाट सडक निर्माण, क्याम्पस भवन, विद्यालय भवन, अतिथि सदन, खेल मैदान जस्ता विकास निर्माणका काम भएको छ ।

उनले कुवेर सुवेदी, घनश्याम दाहाल, केवल कृष्ण अधिकारी, कृष्ण कोइराला, टहल किशोर जी महाराज तथा तारा घिमिरे लगायतजस्ता ख्यातिप्राप्त विद्वान विदुषीहरूको टोलीमा रहेर काम गरेका, अरूसामु कहिल्यै हात नफैलाउने राघभ यति बेला भने अरूसामु आफ्नो‌ जीवन बाचाई दिन अरूसँग हात फैलाउन विवश छन् ।

५५ वर्षीय राघभलाई अहिले कलेजोको क्यान्सर भएको छ । कलेजोको क्यान्सर भएर बिएन्सी अस्पताल बिर्तामोडमा उपचार गराइरहेका छन् । विगत ७ महिना देखि नियमित रूपमा उपचार गराइरहेका राघभकाे उपचारमा ७ लाख भन्दा बढी खर्च भइसकेको छ । झन् पछिल्लो समय त उनलाई औषधिकै लागि मात्र ५ हजारभन्दा बढी खर्च हुन थालेको छ । सम्पत्तिका नाममा १२ धुर जग्गामा बनेको एउटा साधारण टिनको छानाले बनेको भुँईघर सिवाय केही छैन । ४ बहिनी छोरी, १ भाइ छोराका पिता राघभ अहिले आश्रित जीवन जिउन विवश छन् ।

दिनरात नभनी आफ्ना श्रीमानको उपचारमा खटिरहेको उनकी श्रीमती आफ्ना श्रीमानलाई बचाई दिन सवैसँग आग्रह गरिरहेकी छन् । राघभ सगै भजन गायनमा सक्रिय बेलबारीका विक्रम बास्तोला राघभले हिजो समाजमा ठुलो सहयोग पुर्याएकाे छ । त्यो योगदान सम्झेरै उनलाई सहयोग गर्नु पर्ने बताउँछन् । उनी राघभकाे उपचारको व्यवस्था मिलाइदिन स्थानीयपालिकासँग आग्रह गर्छन् ।

एउटालाई पर्दा अर्कोले सहयोग पुर्‍याउनु हाम्रो सामाजिक संस्कार हो । यो परम्परा परापूर्वकालदेखि नै चल्दै आएको छ । तर अहिले हिजोको जस्तो अवस्था छैन । अहिले त गाउँमै सरकार छ । आर्थिक अवस्था कमजोर रहेका यस्ता व्यक्तिको उपचारको व्यवस्था अब राज्यले गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्