विराटनगर । कोशी प्रदेश सरकारले इलामका बाढी–पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याएको छ । अविरल वर्षापछि असोज १७ र १८ गते आएको बाढी र पहिरोका कारण व्यापक क्षति पुगेपछि तत्काल राहत पुर्याउन हेलिकप्टरमार्फत सहायता सामग्री पठाइएको हो ।

प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहत वितरणलाई तीव्र र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई तत्काल सहयोग र विस्थापित परिवारहरूलाई आवश्यक सामग्री पुर्याउने कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिएको जानकारी दिएका छन् । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी राहत सामग्री पठाएको हो । मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार स्थलमार्गबाट सामग्री पठाउन कठिनाइ भएकोले तत्कालका लागि हवाईमार्गमार्फत पठाइएको हो ।

राहत सामग्रीमा दैनिक उपभोग्य वस्तुहरू चामल, दाल, आलु, तेल, नुन, बेसार, साथै ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपालहरू समावेश छन् । ती सामग्री बिहानी इलामको माङ्सेबुङ गाउँपालिका र इलाम सदरमुकाममा पुगेका छन् भने थप राहत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले इलामलाई प्राथमिकतामा राखेको छ, किनकि बाढी-पहिरोका कारण सो जिल्लामा मानवीय तथा भौतिक दुवै किसिमको क्षति भएको छ । इलामका सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा बाढी र पहिरोबाट बढी प्रभावित भएको प्रदेश सरकारले जनाएको छ ।
