नेपालमा एकै दिनमा कोरोनाबाट १२ जनाको मृत्यु


काठमाडौं, १२ भदौ । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा कोरोना संक्रमणबाट चार महिला र आठ पुरुष गरी १२ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ । मृत्यु हुनेमा मोरङका ५६ र ६५ वर्षीय दुई जना, भक्तपुरमा ६४ वर्षीय एक जना र मकवानपुरकी ७१ वर्षीय एक जना गरी चार जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसै गरी उदयपुरका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एक जना, धनुषाका ४५ वर्षीय एक जना, सिरहाका ५५ वर्षीय एक जना, झापाका ८३ वर्षीय एक जना, चितवनका ५१ वर्षीय एक जना, कास्कीका ५२ वर्षीय एक जना र रुपन्देहीको ६० वर्षीय एक जना गरी आठ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हाल कोरोना संक्रमणबाट मृत्यु हुने दर शून्य दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ सहितदेशभर ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (शुक्रवार) को नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार २४२ उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्