काठमाडौं, १० भदौ । आज एकै दिनमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।
पछिल्लो २४ घण्टायता काठमाडौँका एक जनासहित ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ७ वटा जिल्लाका २ महिला र ९ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । महोत्तरीमा मात्र तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाराका ४१ र ३६ वर्षीय पुरुष, काठमाडौँका ५१ र बाँकेका ३७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।