तारा पराजुली –
बेलबारी, ७ भदौ । मौन मौन पदचाप बोकेर हावा सुस्त सुस्त बहिरहेको छ । चराहरू हिजोभन्दा अलि भिन्न लयमा चिर्बिराइरहेछन् , ध्यानकर्मीहरूले नित्यकर्म छोट्टाएका छन् । मन्दिरमा गेट नखुलेको लगभग आधा वर्ष पुग्न लागेको छ।
पूजाको घण्टी लय भुलेसरि हताश आवाजमा बजिरहेको छ। मेरो घरअघिको कच्ची सडकमा धूलो उड्दैन अचेल ताकि,बटुवा अनिश्चित कालका लागि घरभित्र छन्। मन्दिरमा पुजारीको स्तुतिगान फेरिएको छ। भदौको महिना हो यो, भक्तहरू छिनछिनमा बर्षने झरीसँग साँझबिहान पुकारा गर्छन् – हे झरी यो सारा रोगव्याधि बगाइदेऊ भनेर।
“महामारीले चाडपर्व सबै मास्नेभो, छोरीसँग कुशे औँसीमा भेट नभाको चार लागो,यो साल तीज पनि खल्लो हुने भो।” हिँड्दाहिँड्दै चिउँडोमुन्तिर लौरो अड्याएर गाउँका एक जना बुबाले उदास मुद्रामा आफ्नो पीडा सुनाउनु भयो । त्यो दिन कुशे औँसीको भोलिपल्ट थियो। उहाँको अभिव्यक्तिपछि मैले मनमनै सोचेँ, बुझ्नेहरूलाई कति प्रिय छन् संस्कृतिहरू। हुन पनि यिनै विश्वास र प्रेमको तागतले बाँचेका छन् यहाँ यावत परम्पराहरू।
हाम्रा परम्परा रीतिरिवाजका प्राण मानव समुदाय नै हुन् । वास्तवमा हाम्रो देश अनमोल इन्द्रेणी संस्कृतिको संगमका रूपमा संसारभर परिचित छ। यहाँका हरेक जातिलाई आफ्नो संस्कृतिप्रति अधिक प्रेम र विश्वास छ। साँच्चिकै मानव समुदायबाट संस्कृति अलग भयो अर्थात् समाजबाट संस्कृति हरायो भने सर्वस्व हराउँछ भन्ने भनाइमा सत्यता छ।
धैर्य एक अनौठो प्रवृत्ति र नित्य बानी हो, यसलाई निरन्तरको अभ्यासबाट प्राप्त गर्न सकिन्छ। यस वर्ष महामारीका कारण केही पर्वहरू परिवारभित्र सीमित भए, टाढाका आफन्त आउन जान बन्दाबन्दीका कारण परिस्थिति प्रतिकूल बन्यो। यद्यपि शरीर रहे पर्वहरू आउने साल मनाउँला भनेर आत्मबल दर्हो बनाउने बेला हो यो। संस्कृति भनेको भावनात्मक सम्बन्ध जोगाइरहने जोडिरहने साँघु पनि रहेछ ।
भौतिक दुरीलाई कम गर्न मनहरू नजिक बनाइराख्ने बलियो सेतु रहेछन् रीतिरिवाजहरू । यस कारण पनि यस पटक केही सामाजिक,धार्मिक सांस्कृतिक महत्त्व बोकेका चाडहरू उदास निरस बिते।म तीजको सन्दर्भभित्र छु।यो तीजको मौसम हो । तीज पर्वको सुरुवात जसरी भए पनि,हिजोका दिनमा जसरी मनाइएपनि, तीजको परिभाषा जेजसरी गरिए पनि आज आएर धेरैजसो नेपाली महिलाहरूले तीजलाई केही हदसम्म आफू अनुकूल,समाज र समय अनुकूल बनाउन सफल भइसकेका छन्।
खास गरी भाद्र महिनासँग नेपाली नारीहरूको छुट्टै प्रेमभाव छ।तीज पर्व लिएर आउने महिना हो भदौ। अनि महिला मात्रको एक मात्र पर्व भएकै कारण उक्त चाडलाई महत्त्वका साथ हेर्ने चलन छ। नेपाली नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण यो चाड भाद्र शुक्ल द्वितीयाका दिनबाट सुरु भएर पञ्चमीसम्म चार दिन मनाइन्छ। परम्परा अनुसार तीजमा भगवान् शिवको पूजा आराधना गरिनुका साथै नाचगान मनोरञ्जन र पछिल्लो समय महिला अधिकार,विकृति,विसङ्गतिविरुद्ध चर्का सकारात्मक आवाजहरूसमेत उठान गरिने पर्वका रूपमा तीज परिष्कृत भए पनि अहिले यसो हुन सकेन।
खास गरी नेपाली महिलाहरूद्वारा स्वतन्त्र र मर्यादित रूपमा मनाइने तीज पछिल्लो समय साझा पर्वका रूपमा हर्षोल्लासका साथ मनाउने परिपाटीको विकास र विस्तार भएको छ।विगतमा यसको रौनकले प्रेम,शान्ति,सद्भावकोको विकास र जुन उभार छोडेर जान्थ्यो अहिले त्यो हुन सकेन।जति सुन्दरता र मौलिकता प्रस्तुत गर्थ्यो ती सबै थाँती रहे ।
नेपाल लगायत विदेशमा बस्ने नेपालीहरूले समेत हर्ष उल्लासका साथ भेटघाट मनोरञ्जन र शुभकामना साटासाट गरेर मनाइने तीज यस वर्ष व्यक्ति र परिवारमै सीमित रह्यो।त्यसो त समयको परिवर्तनसँगै तीज मनाउने शैलीमा व्यापक परिवर्तन भइसक्दा यसले हरेक वर्ष सामाजिक,सांस्कृतिक ,राजनैतिक एवम् लैङ्िगक परिवर्तनका निम्ति महत्त्वपूर्ण सन्देश प्रेषण हुने गरेको सन्दर्भमा यसपालि ती सन्देश प्रवाह हुन सकेनन् ।
तीज महिलाहरूले मनाउने महत्त्वपूर्ण पर्व हो।आधुनिक समाजमा तीजको महत्त्वलाई जनरूपले जसरी व्याख्या परिभाषा गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो।हिजोका दिनमा विवाहित महिलाहरूलाई पराइघरको नयाँ परिवेश, विभिन्न जिम्मेवारी, कडा बुहार्तन,सूचना र संचारको पहुँच बिनाको समय,संसार अहिले जस्तो विज्ञान प्रविधि र आमसंचारको कुनै थालनी नभएको समय जीवन पद्धति निकै जटिल थियो भन्ने अनुमान हामी सहजै गर्न सक्छौँ।
यस्तो बेला आफन्तहरू बिच खबर बुझ्ने माध्यम केवल भेटघाट हुने गर्थ्यो।त्यो समय विवाहित नारीहरूलाई माइतीको सम्झनाको ग्यापलाई कम गर्न यो पर्वको ठुलो भूमिका रहन्थ्यो।साथीभाइ इस्ट्मित्रहरुको प्रेम सद्भावको लम्बिँदै गरेको दुरी घटाउन सहयोग यी प्रकृतिका पर्वले गर्थे।सबैभन्दा सुन्दर पक्ष के छ भने,तीज मौलिक संस्कृति हो तर संस्कृति भित्रका असल र खराब पक्षहरू छुट्ट्याएर नकारात्मक पक्षहरू इन्कार गर्दै जान महिलाहरू आफ्नै चेतना र विवेकले सफल भएका छन्।
विलियम गोल्डिङले भनेका छन् ,”निल समुद्र उसैले पार गर्न सक्छ जसको जहाजको पाल धैर्यबाट बनेको हुन्छ ।” विश्वलाई कोरोना भाइरसले गाँजिरहेको समय आम मानव समुदाय उच्च विवेक प्रयोग गरी धैर्यले विजय प्राप्त गर्दै छ।
यति ठूल्ठूला महत्त्व र गरिमा बोकेका पर्वहरू ओझेलमा छन् । यो समय क्रुर कोरोनाका कारण कतिपयले हस्पिटल भित्र बिताउनु परेको छ,कतै आइसोलेसन,कतिले क्वारेन्टाइन होम क्वारेन्टाइनमा बिताउनु परेको छ।महामारीको कारण कतिपयले ज्यान गुमाउनु परेको दुःखद सत्यले कैयौँ परिवार गहिरो दुःखमा छ।यति अग्लो दुःखको पहाड उक्लने दिन हाम्रै नजिक छ भनेर सायदै कल्पना गरेका थियौँ हामीले।यसर्थ पनि कठिन यात्रामा छौँ।
यो यात्रा आफैँलाई सुनसान लाग्नु,कोलाहल बिच पनि मौनता बोलिरहनु,केही पर्खिए जस्तो लाग्नु,केही छोडिए जस्तो हुनु अस्वाभाविक होइन।ताकी,हामी भयङ्कर विपत्तिसँग जुधिरहेछौँ।आत्मबल र धैर्यले जित्नुछ फेरि पनि। आज तीजको अन्तिम दिन ऋषि पन्चमी। अघिल्ला वर्षहरूमा परम्परा अनुसार ऋषि पञ्चमीलाई महिलाहरूले विशेष रूपमा मनाइरहँदा यसको रौनक छुट्टै थियो।
विगतमा गाउँ टोलमा नारीहरू व्रत बसेर, चार वेदका रचयिता सप्तऋषिको पूजाआजा गरेर हरितालिका तीजलाई बिदा गर्ने दिन।शास्त्रीय मान्यता अनुसार यस दिनको सन्दर्भ खास गरी महिलाहरूको सिर्जनाशक्ति रजस्वलासँग जोडिए पनि नारीभित्रको सिर्जनारुपि प्रजननशक्तिसँग सम्बन्धित रजस्वला संसारको अतुलनीय शक्ति हो।
आम मान्छेहरूलाई थाहा भएको कुरा हो। महिलाको रजस्वला बिना सृष्टिको अस्तित्व रहन्नँ।यति पवित्र वस्तु अछुतो हुने कुरा पनि भएन। यो तथ्यगत सत्य हो। आजकै दिनसँग जोडिएको गाउँघरमा अहिले पनि औषधीका रूपमा परिचित दतिवन आयुर्वेदमा दतिवन (एकाइरैन्थस एस्पेरा) लाई महत्त्वपूर्ण जडीबुटीका रूपमा चिनिन्छ।
संस्कृत भाषामा ‘अपमार्ग’ र अंग्रेजीमा ‘प्रिकली चाफ फ्लावर’ का नामले चिनिने यो जडीबुटी आयुर्वेद विज्ञान अनुसार हृदयरोग,रक्तविकार चर्मरोग लगायत दर्जनौँ रोगको औषधीय गुण भएको जडीबुटीको प्रसङ्ग जोडिएको छ यस दिनसँग।
विगत वर्षहरूमा आजकै दिन यो जडीबुटी खोज्न वारि र चिस्यानतिर खुब भिड लाग्ने गर्थ्यो तर त्यो चहल पहल कतै छैन आज।ठाउँ ठाउँमा ठुला पानीका सतहमा रमाइरमाई नुहाउँदै गरेका उज्याला मान्छेहरूको समूह कहीँ देखिँदैन। जाग्रामका रातहरू बेखवर छन् । संगिनी र तीज गीतहरू सानो कोठाभित्र मसिनो आवाजमा रेडियो र टेलिभिजनमै सीमित छन् ।
यस बेला सबैको एउटै चाहना छ, महामारी छिट्टै अन्त होस् । जीवन स्वस्थ र समृद्ध बनोस् । जीवन रहे थुप्रै पर्व र उत्सवहरू मनाउँला।आज सम्पूर्ण शक्तिले महामारी विरुद्ध विजय प्राप्त गर्नुछ।