बेलबारी । एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेलबारी–१ मोरङको ३१औँ वार्षिक साधारणसभा शनिवार बेलबारी–१ स्थित तमु बुद्धिष्ट गुम्बाको सभाहलमा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका वार्षिक गतिविधि, आर्थिक विवरण तथा आगामी रणनीतिबारे विस्तृत समीक्षा गर्दै नयाँ योजनाहरू अघि सारिएको छ ।
साधारणसभाको अध्यक्षता संस्थाकी उपाध्यक्ष शकुन्तला सुवेदीले गरिन् । संस्थाका अध्यक्ष मिनु राईको सङ्गठनात्मक प्रतिवेदन उपाध्यक्ष सुवेदीले नै प्रस्तुत गरिन् । सचिव चन्द्रकुमारी लिम्बुले वार्षिक कार्यप्रगति र आगामी कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दा, आर्थिक प्रतिवेदन व्यवस्थापक विमला लिम्बुले पेश गरिन् । लेखा सुपरिवेक्षण समितिका अध्यक्ष भारती सुवेदीले लेखा प्रतिवेदन सार्वजनिक गरिन् ।
सहकारीको आर्थिक विवरण अनुसार संस्थामा ९८८ जना सेयर सदस्य रहेका छन्, जसमा महिला ८३५ र पुरुष १५३ जना छन् । सहकारीमा संकलित सेयर पुँजी ५२ लाख ९० हजार ३५० रुपैयाँ रहेको छ । जगेडा कोष ११ लाख ६६ हजार ३९० रुपैयाँ, अन्य कोष १८ लाख २७ हजार २२४ रुपैयाँ ८० पैसा र बचततर्फ ३ करोड २० लाख १४ हजार ४०४ रुपैयाँ ३१ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको कुल सम्पत्ति ४ करोड २५ लाख ५० हजार ६०९ रुपैयाँ १२ पैसा पुगेको छ । गत आर्थिक वर्षमा संस्थाले ५३ लाख ८० हजार ८७१ रुपैयाँ ७२ पैसा आम्दानी गरेको थियो भने कुल खर्च ४८ लाख ३८ हजार ८६७ रुपैयाँ १६ पैसा भएको छ । कर कटौतीपछि सहकारीले ४ लाख ८७ हजार ८०४ रुपैयाँ ५६ पैसा खुद नाफा आर्जन गरेको संस्थाले साधारणसभामा प्रस्तुत गर्यो ।
लेखा समितिले संस्था सुदृढीकरणका लागि विषयगत उपसमितिहरू सक्रिय बनाउँदै नियमित कार्ययोजना कार्यान्वयन गर्नुपर्ने, नयाँ तथा पुराना सदस्यलाई सहकारी अवधारणा तथा डिजिटल प्रणालीसम्बन्धी तालिम आवश्यक पर्ने, गाउँ–टोलमा प्रचारप्रसार गरेर सदस्यता विस्तार गर्नुपर्ने तथा ऋण भाका पुगेका सदस्यसँग प्रत्यक्ष संवाद गरी किस्ता व्यवस्थापन सुधार गर्नुपर्ने सुझाव दिएको छ ।


