थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमित संख्या ३१,९३५ पुग्यो


काठमाडौं, ७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८१८ संक्रमित थपिएको जानकारी दिएका छन् । जसमा २२० महिला र ५९८ पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २८१ जना डिस्चार्ज भएका छन् । त्यसै गरी हालसम्म १८ हजार ६३१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५९ प्रतिशत रहेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ८ हजार २६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ४ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार २१२ जना र होम आइसोलेसनमा ३ हजार ९४३ रहेका छन् । आजसम्म देशभर ११ हजार ४१४ जना क्वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १० जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

शनिवार देशभर ११ हजार ५१९ जनाको पीसीआर परीक्षणका क्रममा ६३४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसै गरी यस अवधिमा १३६ जना डिस्चार्ज भएका थिए भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्