बारा र पर्सामा सेना–प्रहरीसहित थप १५६ जनामा कोरोना संक्रमण पुष्टि


पर्सा, ७ भदौ । पछिल्लो २४ घण्टामा बारा र पर्सामा सेना–प्रहरीसहित थप १५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३२० वटा स्वाब नमुना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो ।

पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् । नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी पाँच डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ ।

यसअघि पर्सामा ३८७ जना महिलासहित एक हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा २२ जना भारतीय नागरिक, १२० जना स्वास्थ्यकर्मी, ८६ सुरक्षाकर्मी, ८ जना पत्रकार, ८९ कैदी थुनुवा, ४८ जना अस्पताल सफाइकर्मी, गार्ड र कार्यालय सहयोगी समेत संक्रमित भए । जसमध्ये ७४ जना महिलासहित ३ सय ५६ जना कोरोना मुक्त भई घर फर्केका छन् ।

३४ जना महिलासहित १४३ जना संक्रमित आइसोलेसनमा छन् । २०४ जना महिलासहित ६१० जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ । १७ हजार ५०१ जनाको स्वाब संकलन गरिएकोमा ३३० जनाको रिपोर्ट आउन बाँकी छ ।

शनिवार २ ३५ जनाको स्वाब संकलन गरिएको छ । पर्सामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । २८ जनामध्ये एउटा बेवारिसे शवको पहिचान खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्