कोरोना संक्रमणबाट नेपालमा आठ जनाको मृत्यु


काठमाडौं, ५ भदौ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो १८ घण्टाभित्र नेपालमा आठ जनाको ज्यान गएको छ । कोरोनाबाट काठमाडौँमा थप एक जनाको ज्यान गएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको शुक्रवार मृत्यु भएको हो ।

उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको थियो । आजै तीमध्ये पाटन अस्पतालमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको थियो । यस्तै बिहीबार साँझ काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको थियो ।

यस्तै कोरोनाबाट पर्साको वीरगञ्जमा एक जनाको ज्यान गएको छ । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रवार दिउँसो सवा १ बजेतिर मृत्यु भएको हो ।

हिजैदेखि अवस्था सिरियस रहेको र राति दुई पटक भेन्टिलेटरमा राखेर निकालेका जानकारी दिँदै उपचारमा संलग्न एक चिकित्सकले भने, ‘बिहान फेरि अवस्था बिग्रिएर भेन्टिलेटरमा राख्यौँ, तर उहाँको अवस्थामा सुधार आउन सकेन ।’

मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पताल स्रोतले जनाएको छ । उनका आफन्तले रेमडेसिभर औषधि ल्याउन खोजे पनि सकिरहेका थिएनन् ।

नारायणी अस्पतालको आइसियुमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।

योसँगै वीरगञ्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा २५ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

आज (शुक्रवार) बिहान मात्रै चार जना संक्रमितको मृत्यु भएको हो । विराटनगरमा पनि बिहीबार राति कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको थियो । होम आइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिएका छन् ।

विराटनगर महानगरपालिका कोभिड–१९ टिम सुपरभाइजर हैदर अलिका अनुसार ती पुरुषले गत साउन २ गते कोशी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गराएका थिए । भोलिपल्टै त्यसको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनी आफ्नै आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्