लेटाङ । मोरङको लेटाङ नगरपालिकामा सामुदायिक विद्यालयका शिक्षकहरूलाई डिजिटल सिकाइ सामग्रीको प्रभावकारी प्रयोगसम्बन्धी दुईदिने क्षमता विकास तालिम प्रदान गरिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कात्तिक १० गतेदेखि सुरु भएको तालिम मंगलबार कात्तिक ११ गते सम्पन्न भएको हो ।

तालिममा नगरपालिकाभित्रका १३ सामुदायिक विद्यालयका २६ जना शिक्षक सहभागी भएका थिए । संघीय सशर्त अनुदानअन्तर्गत ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको तालिममा सूचना प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी, व्यावहारिक र विद्यार्थीमैत्री बनाउने विषयमा प्रशिक्षण दिइएको थियो ।

प्रविधिमैत्री शिक्षा समाज, कोशी प्रदेशका अध्यक्ष बालकुमार रेग्मीले सहजीकरण गरेको तालिममा शिक्षकहरूलाई कम्प्युटर तथा विभिन्न शैक्षिक प्रविधिको प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो । सहभागीहरूले एमएस वर्ड र पावरपोइन्टको प्रयोग, स्लाइडबाट भिडियो निर्माण, स्क्रिन रेकर्डिङ, इमेल व्यवस्थापन, गुगल ड्राइभ, गुगल क्लासरुम, शैक्षिक वेबसाइट तथा कृत्रिम बुद्धिमत्ता (एआई) को शैक्षिक प्रयोगबारे अभ्यास गरेका थिए । त्यसै गरी, एआईको सहायताले शैक्षिक सामग्री, प्रश्नोत्तरी, ब्यानर तथा तस्बिर निर्माण गर्ने र शैक्षिक भिडियो तयार पार्नेजस्ता विषयमा समेत प्रशिक्षण दिइएको थियो ।

तालिममा सहभागी शिक्षक यज्ञप्रसाद पोखरेलले दुई दिनको अवधिमा शिक्षणका लागि आवश्यक धेरै उपयोगी सीप सिक्ने अवसर प्राप्त भएको बताए । सिक्नुपर्ने विषय अझै धेरै बाँकी रहेको अनुभव सुनाउँदै उनले यस्ता तालिमलाई निरन्तरता दिन नगरपालिकासँग आग्रह गरेका छन् । प्रविधिसम्बन्धी ज्ञान र सीपलाई थप अभ्यास गर्न सके मात्र कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गर्न सकिने उनले बताए ।

तालिमको समापन कार्यक्रममा अध्यक्षता गरेका नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कृष्णराज राईले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा प्रयोग गर्न सहभागी शिक्षकहरूलाई आग्रह गरेका छन् । डिजिटल प्रविधिको अधिकतम सदुपयोगले शिक्षण सिकाइलाई सहज बनाउनुका साथै शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

तालिममा सहभागी शिक्षकहरूले आफूले सिकेका सीप विद्यालयमा प्रयोग गर्ने र अन्य शिक्षकहरूसँग समेत ज्ञान आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले पाठ्यक्रम र विद्यार्थीको आवश्यकताअनुसार डिजिटल सामग्री छनोट तथा निर्माण गरी शिक्षण सिकाइलाई प्रभावकारी र विद्यार्थीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । समापन कार्यक्रमको सञ्चालन अनिलकुमार मिश्रले गरेका थिए ।



