सुनसरी, ३१ साउन। सुनसरीको इटहरी उपमहानगरपालिका स्थित एक केमिकल उद्योगबाट निस्कने प्रदूषणले स्थानीय सर्वसाधारणलाई राम्ररी श्वास फेर्न र सुत्न समेत गाह्रो बनाएको छ । इटहरी वडा नं. १३ स्थित खनारमा रहेको खनार अरिहन्त अटो कोर्गेसन उद्योगबाट निस्केको धुवा र दुर्गन्धले छेउछाउ रहेको बस्तीका मानिसमा स्वास्थ्य समस्या उत्पन्न भएको हो ।
उक्त केमिकल उद्योगबाट निस्कने धुवाँ तथा फोहोरका कारण श्वासप्रश्वास तथा छाला सम्बन्धी बिरामीबाट ग्रसित भएका छन् । ८ महिनादेखि रातको समयमा उद्योगबाट निस्किएको विषाक्त धुवाँको कारण स्वास्थ्यमा समस्या उत्पन्न भएको स्थानीयको गुनासो रहेको छ ।
साना बालबालिकाको शरीरमा स्वास्थ्य समस्या उत्पन्न भए पछि अभिभावकहरू चिन्तासँगै आक्रोशित भएका छन् । बालबालिकाको शरीरमा खटिराहरू आएको देखिन्छ । शरीर चिलाउने, घाउ हुने तर औषधी गर्दा पनि निको नहुने समस्याले पिरोलेको स्थानीय बताउँछन् । उद्योगबाट निस्किने केमिकलको कारण छाला रोग उत्पन्न भएको हुन सक्ने स्थानीयको दाबी रहेको छ । राती सुत्न समेत समस्या भएको स्थानीय बताउँछन् ।
उद्योगबाट निस्किने केमिकलको दुर्गन्ध र फोहोर व्यवस्थापन कार्य नगर्ने र लापरबाही भएको कारण सास्ती भोग्नु परेको स्थानीयको गुनासो रहेको छ । त्यही कारण आसपासको उर्वर जमिन पनि अहिले बन्जर भएको स्थानीय बताउँछन् । अन्नबाली उत्पादनै नहुने भए पछि किसानहरू पीडित भएका छन् ।
उद्योगको मनोमानी सहेर बस्नु पर्ने बाध्यतामा सम्बन्धित निकायको ध्यान किन नगएको भन्ने स्थानीय प्रश्न पनि रहेको छ । सम्बन्धित निकाय मुख दर्शक बनेको स्थानीयको आरोप रहेको छ ।
उद्योगबाट निस्कने धुवाँको कारण आँखा पोल्ने, वाकवाकी लाग्ने, सास बढ्ने जस्ता समस्याबाट झेलिरहनु परेको स्थानीय अनिता मेहता बताउँछन् । धुवाँकै कारण जिउँभरि खटिरा आउने गरेको समेत अनिताले बताए ।
उद्योगको कारण उत्पन्न समस्याबारे जानकारी गराउँदा समेत स्थानीय निकाय मैन रहेको स्थानीयको आरोप रहेको छ । स्वास्थ्य समस्याको कारण कोरोनाको कहरसँगै उद्योगले पनि ज्यान जोखिम पारेको स्थानीय बताउँछन् । समस्याबारे उद्योगसँग पटक पटक गुनासो पोख्दा दादागिरी शैलीमा प्रस्तुत हुने गरेको स्थानीय बताउँछन् ।
स्थानीयका गुनासो लिएर उद्योगमा बुझ्ने प्रयास गर्दा, कर्मचारीले उद्योग बन्दा छ सम्बन्धित व्यक्ति छैन भोलि आउन भन्दै केही बोल्न चाहेनन् । उद्योगबाट निस्कने प्रदूषणबाट स्थानीय सर्वसाधारण मात्र हैन वडा अध्यक्ष शिव नारायण चौधरी स्वयम आफू पनि पीडित भएको उनले बताए ।
कोरोना भाइरसले विश्वै आक्रान्त भएको बेला उद्योगबाट निस्किएको प्रदूषणले स्थानीयहरूको ज्यान झनै जोखिममा परेको छ । यस विषम परिस्थिति मा स्वास्थ्य कुनै लापरबाही भए कोरोनाको कारण ज्यान उच्च जोखिममा रहन्छ । तर स्थानीयको स्वास्थ्यमा नै असर पर्ने गरी उद्योग सञ्चालन भइरहँदा परिस्थिति गम्भीर बन्न सक्ने छ । तसर्थ समयमै सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।