राजा त्रिभुवनका भतिजी बताउने वृद्धा


लीलाराज भट्टराई –

सुनसरी / बिहान ९ बजेतिर इटहरी उपमहानगर परिसरमा एक जना पहेँलो कपडा लगाएकी कुप्प्री परेकी वृद्धा सिटिरिक्सामा आउनुभयो ।

हातमा एउटा झोलामा बेलको बिरुवा र पानी भरिएको बोतल थियो । नगरप्रहरीलाई बेलको बिरुवा रोप्न आएकी हुँ, बिरामी छु धेरै बेर बस्न सक्दिन,ठाउँ देखाइदिन भन्नुभयो । नगरप्रहरीले वृद्धा आमालाई बोलाएर ठाउँ देखाइदिए । आमाले मेचीकाली पोखरीको पश्चिमी किनारमा रोप्ने ठाउँ पाउनु भएपछि बिरुवा रोप्दै भन्नुभयो — धेरै फल दिनु,नगरपालिकाको जय होस ।

” ती वृद्धाले बिरुवा रोपी सकेपछि मैले सोधेँ “
आमाको नाम के हो ?
वृद्धाले बेली विस्तार लगाउनुभयो “सबैले रानी आमा भन्छन् । खास नाम चाहिँ श्री रानी विष्णु प्रिया खड्का हो । जन्म ७९ वर्षअघि ५२ ढोका दरबार धनकुटामा भएको हो । खास घर काठमाडौँ हो । अहिले इटहरीमै बस्छु । माइती काठमाडौँ हो ,शाहकी छोरी हुँ । मेरा बुवा इन्द्र विक्रम शाह साइनोमा राजा त्रिभुवनका भाइ पर्नुहुन्छ । ”

अहिले को सँग बस्नुहुन्छ ?
भगवान् सँग ।

बिरुवा किन रोप्नुभएको ?
अक्सिजन दिन्छ नि सास फेर्न सजिलो हुन्छ । बेलको पात भगवान्लाई चढाउनु पर्छ । सुन्दरहरैचा नगरपालिकाकामा पनि रोपेकी छु । माई खोलामा पनि रोपेकी छु । यहाँ अस्ति फुल पनि रोपेँ । उ त्यहाँ छ अस्ति रोपेको फुल पानी हालेर आउँछु अनि तिमीले खिचेको फोटो हेरौँ ल ।

फोटो हेरेपछि हाँस्दै हाँस्दै ती वृद्धा निस्कनुभयो गेटमा पुगेपछि फर्कँदै भन्नुभयो “ए भाइ वेला वेला त्यो बिरुवामा पानी हाल्दै गर्नु है।”

प्रतिक्रिया दिनुहोस्